काठमाडौं । आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बसुन्धारास्थित घरेलु कोर्टमा स्किब्सले सिद्धार्थ मोडेललाई ५–२ ले पराजित गरेको हो ।
सोही स्पर्धामा पारामाउन्टले एन्जल्स हार्टलाई ६–५, ज्ञान निकेतनले रेडिअन्टलाई ६–५ र गोल्डेनपिकले सूर्योदयलाई ९–७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा गोल्डेनपिकको भेट स्किब्ससंग हुनेछ भने पारामाउन्टले ज्ञान निकेतन विरुद्ध खेल्ने छ । स्टाफमा स्किब्स र डिफेन्डिङ च्याम्पियन महामन्जुश्री उपाधिका लागि भिड्ने भएका छन् ।
स्किब्सले पाठशाला नेपाललाई ९–७ तथा महामन्जुश्रीले काठमाडौं वल्र्ड स्कुललाई १९–१७ ले सेमिफाइनलमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, सेन्ट जोसेफ, रिलायन्स, हिमालय, ज्ञान निकेतन, नवज्योति, इन्साइट भिजन र निम्सले क्वाटरफाइनलमा स्थान बनाए । सिनियर गल्र्समा भ्याली पब्लिक, साविक विजेता निम्स, पाठशाला, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), रिब्स, पारामाउन्ट, एभरेष्ट र नेपाल मोडेलले क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा शाखाका प्रमुख प्रशाकीय अधिकृत बाबुराम गौतम, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।
सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।