–मुना कार्की
काठमाडौं, ६ साउन - नेपालले आयोजनाको जिम्मा पाएको तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगितामा यसपटक नेपालबाट नयाँ खेल प्याराग्लाइडिङलाई समावेश गरिएको छ ।
सागमा पर्यटन प्रवद्र्धनका लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ प्याराग्लाइडिङ र दक्षिण एसियाली राष्ट्रमा लोकप्रिय रहेको खेल क्रिकेटलाई पनि थप स्थान दिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो ।
सागमा क्रिकेट भने दोस्रो पटक समावेश गरिएको हो । यसअघि बंगलादेशमा सन् २०१० मा भएको ११ औँ संस्करणको सागमा क्रिकेट खेलले सहभागिता जनाएको थियो । सागमा नेपालबाट जम्मा २७ खेलको प्रतिनिधित्व हुनेछ । पहिले २५ खेलले मात्र भाग लिने निर्णय गरिए तापनि आयोजक राष्ट्रको हिसाबले थप दुई खेललाई प्राथमिकता दिएको एनओसीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्याराग्लाइडिङ र क्रिकेटसँगै आर्चरी, एथ्लेटिक्स, व्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फूटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते र खोखो छन् ।
त्यसैगरी सुटिङ, स्वाक्स, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्राइथलन, भलिबल, रेसलिङ, भारोक्तन र उसु खेलले नेपालबाट प्रतिनिधित्व गर्नेछ ।
नेपालबाट प्रतिनिधित्व गर्ने कूल खेलमा ३१५ वटा विधामा प्रतिस्पर्धा हुनेछ । एनओसीका अध्यक्ष श्रेष्ठले सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै प्रतियोगिता आयोजना गर्ने स्पष्ट पार्दै भन्नुभयो, “नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो लिएकाले तोकिएको समयमै प्रतियोगिता हुनेछ ।” आगामी फागुनमा सञ्चालन हुने सागका खेल काठमाडौँ र पोखरामा सञ्चालन हुनेछ ।
साग सञ्चालन हुन करीब आठ महिना बाँकी रहँदा भौतिक पूर्वाधारको निर्माण कार्य भने चुस्त गतिमा हुन सकेको छैन । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालालगायत अन्य विभिन्न ठाउँको रंगशाला निर्माणाधीन अवस्थामा नै छ ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिसक्ने बताउनुभयो ।
“साग सञ्चालनको जिम्मेवारी नेपाल सरकारको हो, राखेपले त भौतिक पूर्वाधार निर्माणको जिम्मा मात्र पाएको छ त्यो त हामी समयमा नै पूरा गछौँ, बाँकी सागका तयारी र अन्य काम त सरकारले गर्नुप¥यो नि” सदस्य–सचिव विष्ट भन्नुहुन्छ ।
भारतमा सम्पन्न बाह्रौँ साग समापनसँग तैह्राँै साग आयोजना जिम्मेवारीको झण्डा नेपालले लिएको थियो ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौँ आउनुभएका विभिन्न राष्ट्रका प्रतिनिधिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण हिजोमात्रै गर्नुभएको थियो ।
प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगतिबारे जानकारी लिनुका साथै कभर्डहल र टेनिस कोर्टको निरीक्षण पनि गर्नुभएको थियो ।
त्यस्तै नेपालले साग आयोजना गर्न लागेको यो तेस्रो पटक हो । प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुने सागको उद्घाटन सन् १९८४ मा नेपालबाटै शुरुआत भएको थियो । त्यस्तै नेपालले दोस्रो पटक भने सन् १९९९ मा आठौँ संस्करणको साग आयोजना गरेको थियो ।
पहिलो सागमा नेपालले चार स्वर्णपदक हात पारेको थियो । त्यतिबेला एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, बक्सिङका स्वर्गीय खेलाडीद्वय दलबहादुर रानामगर र पुष्करध्वज राना शाहीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । नेपालले फूटबल खेलमा पनि स्वर्णपदक हात पारेको थियो । पहिलो सागमा नेपालले समग्रमा १२ रजत र आठ कास्यपदक पाएको थियो ।
त्यसपछिको साग सहभागितामा भने नेपालले मिश्रित नतिजा ल्याउँदै आएको छ । नेपालले यसपटकको सागमा राम्रो नतिजा ल्याउने विभिन्न खेल प्रतिनिधिले अपेक्षा गर्नुभएको छ ।
राखेप पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इञ्जिनियर अरुण उपाध्यायले भूकम्पले क्षतिग्रस्त बनाएको भौतिक पूर्वाधारको निर्माण कार्य तीव्रगतिमा भएको जानकारी दिँदै साग आयोजनाका लागि रंगशाला निर्माण गरिसक्ने बताउनुभयो ।
खेलाडी कोटा र इभेन्ट निर्धारण
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको चौथो बैठकले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) समावेश विभिन्न २७ खेलका स्पर्धा र खेलाडी कोटा निर्धारण गरेको छ ।
नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा सोको जानकारी गराए । श्रेष्ठकै अध्यक्षतामा शनिबार नेपालसहित ६ राष्ट्रको सहभागितामा काउन्सिलको बैठक बसेको थियो । बैठकमा भुटान मात्र अनुपस्थिति रह्यो ।
बैठकले खेल संख्या पनि २७ पु¥याएको छ । सागमा समावेश हुने खेलहरुमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खो खो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिच भलिबलसहित), भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट र पाराग्लाइडिङ रहेका छन् ।
क्रिकेट र पाराग्लाइडिङलाई चौथो बैठकले समावेश गर्ने निर्णय गरेको थियो । पाराग्लाइडिङ सागकै इतिहासमा पहिलो पटक समावेश गरिएको हो ।
बैठकले काउन्सिलको विधानलाई इन्डोनेसियामा हुने एसियाली खेलकुदका दौरान बैठक बसी संशोधन गर्ने निर्णाय पनि गरेको छ ।