काठमाडौं । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ । सिनियर गर्ल्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो ।
बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट जेभियर्सलाई २४–१७ ले पराजित गर्यो । विजयी टिमका लागि सुजन तामाङले १४ अंक जोडे ।
सिनियर ब्वाइजमै हिमालयन किङडमले मन्जरीलाई २४–१४, सेन्ट जोसेफले मनास्लुलाई ३८–२८ र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४–२५ ले हराए । हिमालयनका मिङमारले ११, सेन्ट जोसेफका इशान राईले ८ र स्कोलर्स होमका न्हुजा महर्जनले ९ अंक जोडे ।
बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गर्ल्समा सेन्ट जोसेफले मनास्लुलाई १७–११, बीएमसीएले भद्रकालीलाई १९–१४ र टेरेसाले सेन्ट जेभियर्सलाई १४–१० ले पाखा लगाए । सेन्ट जोसेफकी प्रीतिमा गुरुङले ६, बीएमसीएकी लक्ष्मी तामाङले ९ र टेरेसाकी अन्जली श्रेष्ठले ५ स्कोर गरे ।
जुनियर ब्वाइजमा बीएमसीएले भद्रकालीलाई १७–१३ ले पन्छायो । बीएमसीएका सन्देश तामाङले ७ अंक बटुले । सेन्ट जोसेफले बीएमसीएलाई १८–११ ले पराजित गर्यो । सेन्ट जोसेफका सन्जोग मगरले ६ स्कोर गरे ।
प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २७, सिनियर गर्ल्समा १६ र जुनियर ब्वाइजमा १० गरी ५३ टिम सहभागी छन् ।