काठमाडौं । ह्वाईटहाउस अन्डर-१९ बास्केटबल प्रतियोगितामा पुरुष तर्फ ग्राण्डी स्पोर्टस् सेन्टर र महिलातर्फ जेभिएर कलेज विजयी भएको छ ।
महिलातर्फको फाइनल खेलमा जेभिएर कलेजले बलर्स एकेडेमीलाई २८-२१ अन्तरले स्तब्ध पारेको हो । पुरुष तर्फ भने ग्राण्डीले टाइम्स कलेजलाई ६१-५६ अन्तरले पराजित गरेको हो । विजेता टोलीले नगद बिस हजार र मेडल तथा प्रमाणपत्र र उपविजेता टोलीले नगद दश हजार प्राप्त गरेको कलेजका खेलकुद विभाग प्रमुख गगन आचार्यले बताए ।
तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजना माघ २ गतेदेखि ९ गतेसम्म जारी प्रतियोगितामा विभिन्न कलेज र प्रतिष्ठानका ११ टोली सहभागी थिए । प्रतियोगिताको अन्तिम खेल कलेज प्राङ्गणमा सम्पन्न भएको थियो। कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले विजयी टोलीलाई सम्मान गरेका थिए ।
‘चिसो मौसममा विद्यार्थीहरूलाई खेलकुदबाट स्वास्थ्य सचेतना र नेतृत्व विकासका लागि अन्तर कलेज स्तरीय प्रतियोगिता आयोजना गरेका हौँ । एक दर्जन टोलीको सक्रिय सहभागीताले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ' । कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले भने । बास्केटबलबाहेक पनि स्पोर्टस् विकमा कलेज भित्रका प्रतिस्प्रधामा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस लगायतका खेलहरू सम्पन्न भएका छन् ।
प्रतियोगितामा ट्रिनिटी, जेभिएर, निस्ट कलेज, टाइम्स कलेज, ज्ञान निकेतन कलेज, ग्राण्डी स्पोर्टस् सेन्टर, ह्वाइटहाउस कलेज, एलआरआई, ओमेगा कलेज, रोयल स्पोर्टस् एकेडेमी र बलर्स एकेडेमी लगायतका टोली सहभागी भएका थिए ।