काठमाडौं, १९ असार - पोखराकी केशरी आले मगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा मंगलबार स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा केशरीले राष्ट्रिय च्याम्पियन नेपाल आर्मीकी आइशा तामाङलाई ६–५ ले पराजित गरिन्। निर्धारित समयमा खेल ५–५ को बराबरीमा टुंगिएको थियो । त्यसपछि दुवैलाई १–१ तिर हान्न लगाइएकोमा केशरीले अधिकतम १० अंक जोडिन् । आइशाले भने ९ अंक प्राप्त गरिन् । आर्मीकै ज्ञानु अवालेले तेश्रो स्थानमा चित्त बुझाइन् ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिता पुरुष व्यक्तिगत रिकर्भमा आर्मीका रोशन नगरकोटी पहिलो भए । उनले फाइनलमा ट्रेडिसनल आर्चरी क्लबका लक्ष्मण पुनलाई ६–४ ले हराएका हुन्। आर्मीकै प्रेम विक तेश्रो भएका छन्।
पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङ पहिलो भएका हुन्। उनले फाइनलमा ट्रेडिसनलका प्रेमकुमार भट्टचनलाई ७–३ ले पाखा लगाए । वेस्ट आर्चरीका नवीनवीर बस्नेत तेश्रो भएका छन्।
सो स्पर्धाको महिलामा अर्चना थापा मगरले फाइनलमा सेलिना गुरुङलाई ६–२ ले निराश पार्दै स्वर्ण जितिन् । सर्मिला गुरुङले कांस्य हात पारिन् । शीर्ष तीन स्थान हात पार्ने सबै अन्नपूर्ण आर्चरी क्लबका हुन्।
पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजीत अग्रवाल च्याम्पियन बने । उनले फाइनलमा राजधानी दैनिकका सनातन मल्लाको चुनौती १३७–१३१ ले समाप्त पारे । स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन तेश्रो बनेका छन्।
पुरुष स्ट्यान्डर्ड टिम इभेन्टमा वेस्ट पहिलो, अन्नपूर्ण दोश्रो र आर्मी तेश्रो भए । पुरुष रिकर्भ टिममा आर्मीले स्वर्ण, ट्रेडिसनलले रजत र कास्कीले कांस्य हात पारेका छन्।
विजेतालाई प्रतिनिधि सभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आर्चरी संघका अध्यक्ष दीपककुमार गुरुङ, महासचिव रमेश सिवाकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका छन्। दुईदिने प्रतियोगितामा ५५ खेलाडीले ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।