काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । बिहीबार राति ९७४ रंगशालामा समूह 'एच' को खेलमा घानालाई ३-२ गोलले हराउँदै पोचुगलले सुखद सुरुआत गरेको हो ।
पोर्चुगलका लागि कप्तान क्रीस्टियानो रोनाल्डो, जोआ फेलिक्स र राफायल लियोले एक/एक गोल गरेका थिए भने घानाका लागि आन्द्रे आयु र ओस्मान बुकारीले एक/एक गोल गरे ।
पहिलो हाफमा गोलरहित रहेको खेलमा दोस्रो हाफ भने दुवै टोलीले आक्रमणमा पाएको अवसरलाई सदुपयोग गरे । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डो विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बने ।
खेलको ७३ औं मिनेटमा आन्द्रे आयुले गोल गर्दै घानालाई १/१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगललाई ३-१ को अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर थप गरिएको ९ मिनेटको अन्तिम समयमा घाना खेल बराबरी गर्न सुवर्ण अवसरबाट बन्चित हुन पुग्यो ।
पोचुगलका गोलरक्षक डिओगो कोस्टाले बल भुइँमा राखेको अवस्थामा पछाडी उभिएका घानाका इनाकी विलियम्सले बल खोसे । तर बल खोस्ने क्रममा खाली पोस्टमा प्रहार गर्ने प्रयासमा उनी चिप्लिन पुग्दा डिफेन्डर लाइनमा फर्कन पाए र प्रहारलाई गोललाइनबाट क्लियर गरेका थिए ।
यस जितसँगै समूह 'एच' मा रहेको पोर्चुगलले ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको घाना पुछारमा रहेको छ ।