काठमाडौं । आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा स्किब्स र सिनियर ब्वाइजमा काठमाडौं जेभियर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित गर्यो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे । सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे । श्रृजनाका मिसन गोलेले ४, युनिकका सन्जित रिमालले ४ र रेडिअन्टका विदान कार्कीले ८ स्कोर गरे ।
सिनियर गर्ल्समा लोक आदर्शले सनसाइनलाई ४–३ तथा डिफेन्डिङ च्याम्पियन निम्सले स्वर्णिमलाई १६–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लोक आदर्शकी सम्मानिका ठकुरीले ३ तथा निम्सकी सरेना सुनवारले ६ अंक बटुले ।
सिनियर ब्वाइजमा ग्रिनफिल्डले विस्डमलाई ३९–८, काठमाडौं जेभियरले हेम्सलाई ३०–२८, डिफेन्डिङ च्याम्पियन निम्सले राइजिङ स्टारलाई ४१–६, एचएचसीएले स्वर्णिमलाई ३४–१५ र बौद्ध चिल्ड्रेन हेभनले द एक्सेल्सियरलाई ३१–१० ले पन्छाए । विजेता सबै क्वाटरफाइनलमा पुग्न सफल भए ।
ग्रिनफिल्डका सशान्त कार्कीले २१, काठमाडौं जेभियरका सुजनले १२, निम्सका सरोज लामिछानेले ८, एचएचसीएका पवन मगरले ११ र बौद्ध चिल्ड्रेनका रशिम थापा मगरले १४ स्कोर गरे ।