काठमाडौं ९ असार - नेपाली तेक्वान्दो खेल विकास लागि नेपाल तेक्वान्दो संघ र यूके स्पोर्टसबीच सम्झौता भएको छ।
शनिबार कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङमा संघका अध्यक्ष प्रकाश शम्सेर राणा र यूके स्पोर्टस्का क्याथरिन स्वीटबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
उक्त सम्झौता ३ वर्षका लागि हुने संघका अध्यक्ष राणाले जानकारी दिए। सम्झौता अनुसार प्रशिक्षकको स्तरबृद्धी, पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण, विभिन्न स्थानमा पारा तेक्वान्दो सञ्चालन गर्ने, खेलको बर्गीकरण, स्तरीकरण र प्रतियोगिता गर्ने भएको छ।
युके स्पोर्टस्ले पारालाई अन्तर्राष्ट्रिय सहभागितामा जोड दिँदै सन् २०२० को टोकियो ओलम्पिकमा नेपाली पारा तेक्वान्दोलाई स्थान बनाउन विभिन्न कार्यक्रम अगाडि बढाउने जनाएको छ।
नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा तेक्वान्दो स्पोट्र्स साइन्स र खेलाडीका लागि औषधीसम्बन्धित तालिम सञ्चालन गर्ने भएको छ। सो अवसरमा संघका अध्यक्ष राणाले यो कार्यक्रमबाट नेपाली तेक्वान्दो विकास अर्को इट्टा थपिने विश्वास व्यक्त गरे।
युके स्पोर्टस्की क्याथरिनले नेपाली तेक्वान्दोसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताइन्। शनिबार नै एक कार्यक्रमकाबीच तेक्वान्दो कोच एडुकेसन कोर्सको उद्घाटन गरिएको। तीनदिने कोर्समा युके स्पोर्टस्की क्याथरिन, युके स्पोर्टस् टिमकी हेड अफ टिम एन्ड्रयू डिर र ग्रेट बिटेन तेक्वान्दो टिमका म्यानेजर (jayne ellis) लगायतले प्रशिक्षण गर्नेछन्।
उक्त कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले पानसमा दीप प्रज्ज्वलित गर्दै उद्घाटन गरेका थिए।
उक्त कार्यक्रममा संघका उपाध्यक्षद्वय नन्दकुमार राई र भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ र सचिव नविनकुमार श्रेष्ठको उपस्थिती रहेको थियो । कोर्समा सातै प्रदेशका कुल ६० तेक्वान्दो प्रशिक्षकको सहभागिता रहेको छ।