अहिले खेल मानिसको मनोरञ्जनको विषय मात्र नभएर स्वस्थ जीवनका लागि अपरिहार्य बनेको छ । खेल अब विस्तारै मानिसको जीवनपद्दतीका रूपमा विकास हुँदै गइरहेको छ । खेलको माध्यमबाट मानिसको स्वास्थ्यमा परिवर्तन आउने हुनाले खेल एउटा प्राकृतिक चिकित्सा विधा पनि हो । यदि खेललाई प्राथमिकता दिएको खण्डमा खेलकुद क्षेत्रमा लगानी बढ्छ भने स्वास्थ्य क्षेत्रमा लगानी स्वत घट्दै जान्छ । त्यस्तै, देशहरुबीच मित्रता र सद्भावको विकासका लागि खेलाडी र खेललाई प्रयोग गरिन्छ । खेलकुद मानवसभ्यताको अभिन्न पक्ष पनि हो ।
विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले यतिबेला धेरै देशले प्रायजसो क्षेत्रमा निकै ठूलो क्षति व्यहोर्नु परेसँगै खेल क्षेत्र पनि डमाडोल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)सदस्यसचिव रमेशकुमार सिलवाल अध्यक्षताको बैठकले विश्वभर कोभिड–१९ का कारण परेको असरलाई ध्यानमा राखेर खेलकुदका सबै गतिविधि रोक्ने निर्णय गर्यो । विश्वका ठूला शक्तिशाली राष्ट्रले कोरोनाका विषयमा सचेतना अपनाइरहेको अवस्थालाई ध्यानमा राखेर जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएकाले यस्तो निर्णय लिएको राखेपले जनायो । यसअघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा अध्यक्षताको २२ फागुनमा बसेको आपतकालीन बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र त्यससँग सम्बन्धित सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न भनेको थियो । राखेपको निर्णयलगत्तै अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन लिगसहितका सबै फुटबल प्रतियोगिता स्थगित गर्यो । कोरोना कहरमा नेपाली टोली विश्वकप छनौटमा पर्यो । राष्ट्रिय फुटबल टोलीले पहिलो पटक घरेलु मैदानमा अस्ट्रेलियासँग खेल्ने अवसर जुर्दै थियो । १३ चैतमा चाइनिज ताइपेईसँग र १८ चैतमा अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने तय थियो । त्यस्तै, आगामी २२ जेठमा जोर्डनसँग खेल्ने तालिका थियो । तर, कोरोनाका कारण ती सबै खेल स्थगित भएका छन् ।
विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को संयुक्त बैठकले कोरोनाको प्रभावबाट बच्न एसियामा हुने तय भएका विश्वकप छनौट २०२२ र एसियन कप छनौट २०२३ का सबै खेल स्थगित गर्ने निर्णय गरेपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण पनि प्रभावित भयो । एन्फाले ३ चैतबाट सुरु हुने भनिएको महिला राष्ट्रिय लिग पनि स्थगित गर्यो । कोरोनाकै कारण १ चैतबाट हुने भनिएको फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित भयो । विश्वका चर्चित खेलाडीहरू क्रिस गेयल, ड्वायन स्मीथ, उपुल थरंगा, हसिम अम्लालगायतले कीर्तिपुरस्थित त्रिवि मैदानमा क्रिकेट खेलेको हेर्ने नेपाली दर्शकको चाहनामा कोरोनाको धक्का लागेको छ ।
महाव्याधिका रूपमा रहेको कोभिड–१९ ले मानिसको आवतजावत र भेला हुने क्रममा बन्देज/नियन्त्रण जारी रहेका बेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अधिकारीले ५ चैतमा प्रशिक्षण जारी राख्न भनेपनि त्यो हुन सकेन । दोस्रो विश्वयुद्धका बेला मात्रै स्थगित भएको एक सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घटना भएको छ । विश्वभरका दुई सय खेलाडी, आईओसीका अध्यक्ष थोमस बाक र पदाधिकारीहरूबीच भएको भिडियो कन्फ्रेन्समा आगामी जुलाईमा टोकियोमा ओलम्पिक हुने र त्यसका लागि तयारी यथावत् राख्न भनिएको थियो । तर, सहभागीमध्ये धेरैले जिमखाना, पौडी पोखरी र प्रशिक्षण केन्द्र बन्द गरिएको अहिलेको अवस्थामा जुलाई अन्त्य वा अगस्त सुरुमै ओलम्पिक सारिए पनि न्यायोचित नहुने तर्क गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ओलम्पिक एक वर्षपछि सार्न सुझाव दिइसकेका छन् ।
ओलम्पिक मात्रै होइन, प्रत्येक चार वर्षमा आयोजना हुने दुई ठूला फुटबल प्रतियोगिता युरोकप र कोपा अमेरिका पनि एक वर्षपछि धकेलिएका छन् । कोभिड–१९ कै कारण २०२० मा आयोजना हुने भनिएको विश्वकपपछिकै सबैभन्दा ठूलो प्रतियोगिता युरोपेली च्याम्पियनसिपको मिति परिवर्तन गरिएको छ । युरोपेली फुटबल महासंघले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको केही घन्टामै दक्षिण अमेरिकी महादेशस्तरीय स्पर्धा कोपा अमेरिकाको आयोजकले पनि प्रतियोगिता सन् २०२१ मा गर्ने निर्णय गर्यो । टेनिसको महत्त्वपूर्ण प्रतियोगिता फ्रेन्च ओपन पनि सरेको छ । पेरिसस्थित रोल्यान्ड गारोसमा हुने स्पर्धा वर्षको दोस्रो ठूलो प्रतियोगिता हो । अस्ट्रेलियन ओपन सकिएपछि हुने अर्को ग्रान्डस्लाम प्रतियोगिता र न्युयोर्कमा हुने युएस ओपन प्रतियोगिताको समय तालिका पनि सरेको छ ।
अन्तर्राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता स्थगित भएसँगै देशका स्कुल/कलेजमा पढाइसँगसँगै गतिशील हुनुपर्ने खेलकुद क्षेत्र पनि कोरोना भाइरसको महामारीले नराम्रोसँग प्रभावित भएको छ । नेपाली खेलकुदको मार्केट ठूलो नभए पनि स्कुल/कलेजस्तरबाट हुँदै आएका खेल यतिबेला ठ्याप्पै भएका छन् । खेल्ने, खाने, पढ्ने र रमाइलो गर्नुपर्ने उमेरका विद्यार्थीहरु लकडाउनको मारमा घरभित्रै थुनिएर बस्नु परेको अवस्था छ । अहिलेको यो परिस्थितिमा आफ्ना बच्चाहरुको लागि अभिभावक, स्कुल/कलेज र स्वयम् विद्यार्थीले कस्तो भूमिका निर्वाह गर्नु पर्छ भन्ने कुरामा ध्यान दिनु नै उचित हुन्छ ।
अभिभावक :—
विद्यार्थीको भविष्य सर्वप्रथम अभिभावकको हातमा निर्भर हुन्छ । अभिभावकले आफ्ना छोराछोरीको आनीबानी र रुचीको विषय पहिचान गरी त्यसैमा साथ र सहयोग गरेको खण्डमा उनीहरुको भविष्य उज्वल हुन्छ । आफ्नो बच्चाको रुचीको विषयलाई पहिचान गरी त्यसैमा दक्ष बनाउन जुन अभिभावकले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, त्यो बच्चाको भविष्य पनि उज्वल हुन्छ । विद्यार्थीको पहिलो शिक्षण संस्था घर हो भने गुरु भनेको आमाबुबा हुन् । सर्वप्रथम एउटा बच्चाले घर र आमाबुबाबाट पहिलो शिक्षा पाएको हुन्छ । त्यसैले अभिभावकले आफ्ना बच्चाहरुको इच्छालाई प्राथमिकताका साथ अगाडि बढ्न हौसला दिएको खण्डमा सुनमा सुगन्ध थपिन्छ । अहिले लकडाउनमा वाध्यतावस घरभित्रै बस्नुपरेका आफ्ना बच्चाहरुको रुचीको विषयलाई मध्यनजर गर्दै त्यहि किसिमको वातावरण सिर्जना गरिदिनतर्फ ध्यान दिनु नै अभिभावकको उचित कर्तव्य हुन जान्छ ।
स्वयम् विद्यार्थी :—
बच्चा हुर्कदै गएपछि उ आफै आफ्नो निर्णयको आधिकारीक बन्छ । अभिभावकको साथ र सहयोगमा पढाइ सँगसँगै डाक्टर, इन्जिनियर, शिक्षक, व्यापारी, खेलाडी आदि इत्यादि के बन्ने हो, त्यसलाई प्राथमिकता दिएर अगाडि बढ्छ । साथै, सर्वप्रथम घरको वातावरण र आर्थिक अवस्थालाई मध्यनजर गर्दै स्वयम् विद्यार्थीहरुले आफू कुन क्षेत्रमा लाग्ने भन्ने कुराको तय गरी त्यसैमा लगाव दिनु पर्छ । अनि मात्र विद्यार्थीको भविष्य उज्वल हुन्छ ।
खेलकुद र स्कुल/कलेज :—
हाल नेपालमा खेलकुदको विकासक्रम बढ्दो छ । विभिन्न विद्यालयस्तरमा खेलकुदका कार्यक्रमहरु पनि प्रशस्तै हुँदै आइरहेका छन् । खेलाडी राष्ट्रका गहना हुन, जसलाई विद्यालयस्तरदेखि नै समावेश गर्दै लानु पर्दछ । खेलकुद एउटा यस्तो क्षेत्र हो, जसमा कुनै एक समुदाय, जातभात आदिबाट जकडिएको हुँदैन् । र, खेल कुनै समुदाय, व्यक्ति र पक्षसँग सम्बन्धित हुनु पनि हुँदैन । खेल क्षेत्रमा नातावाद, क्रिपावाद, राजनीतिक हस्तक्षेप आदिबाट टाढै राख्नु खेलकुदले फड्को मार्नु हो । अभिभावकले आफ्ना नानीहरुलाई विद्यालयमा भर्ना गर्नु अगाडि शिक्षण संस्थामा उत्कृट शिक्षाको साथसाथै खेलकुद, भौतिक संरचना, शान्त वातावरण आदि इत्यादि छ छैन विचार गर्दछन् । पदक र सफलता प्राप्त गर्ने खेलाडीहरु कुनै समय विद्यालयस्तरका प्रतियोगितामा सफलता प्राप्त गरेका विद्यार्थीहरु नै अधिकांश हुने गरेका छन् । त्यसैले पनि होला, विभिन्न स्तरका खेल प्रतियोगिता आयोजना गर्ने आ–आफ्नै खेल मैदान भएका विद्यालयहरुमा विद्यार्थी संख्या क्षमता अनुसार उल्लेख्य रहने गरेको पाइन्छ ।
सानैदेखि खेलकुदमा भिजेका विद्यार्थीहरु कलेजको पढाइसम्म पुग्दा आफूले छानेको खेलमा दक्ष भइसकेका हुन्छन् । त्यसैले विद्यार्थीको लागि घर, शिक्षण संस्था र कलेजमा खेलकुदको वातावरण सिर्जना गरिदिन स्वयं घर, शिक्षण संस्थाहरुले नै जिम्मेवारी वहन गरिदिनु पर्छ । खेलकुद क्षेत्र यस्तो हो, जसले गर्दा युवा विद्यार्थी तथा खेलाडीहरु सधैं तन्दुरुस्त, फुर्तिलो र निरोगी हुन्छन् । शरीर स्वस्थ भयो भने विद्यार्थीको लागि पढाईमा समेत अल्छिपना हटेर जान्छ र कुनैपनि काम जोश जागरका साथ गर्ने साहस बढ्छ । जोश, जागरसहितको स्वस्थ मानव शरीर कर्मशील हुन्छ । खेलाडीको लागि अर्थात् खेल क्षेत्रमा रुची हुने विद्यार्थीहरुका लागि पढाइसँगसगै खेलकुदसम्बन्धी वातावरण प्रत्येक शिक्षण संस्थाहरुमा सिर्जना गरिदिनु अति आवश्यक छ । खेलकुद विद्यार्थीका लागि अनिवार्य छ किनकि विद्यार्थीलाई अनुशासनमा राख्न र पढाईलाई लगनशील बनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राय देशहरुमा खेलकुदलाई शिक्षाकै एउटा पाटोको रुपमा लिने गरिन्छ । शिक्षा र खेलकुद एकअर्काका परिपुरक हुन् । खेलकुदलाई प्राथमिकतामा राखेका विद्यार्थीलाई रुची अनुसारको खेल क्षेत्रमा सामेल गराउन सक्नु प्रत्येक शिक्षण संस्थाको पनि सान, मान र प्रतिष्ठा हुने गर्दछ । विद्यार्थीको पढाई सँगसँगै उनीहरुको रुची अनुसारको खेलमा सामेल गराउनको लागि प्रत्येक शिक्षण संस्थामा खेलकुदका विषयलाई समावेश गरी पाठ्यक्रम बनाउने काममा सम्बन्धित निकायको ध्यान जानुपर्छ ।
केहि हदसम्म उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले पनि सम्पूर्ण विद्यालय तथा कलेजहरुलाई खेलकुदका गतिविधि क्यालेण्डरमा समावेश गर्न तथा प्रतियोगिताहरुलाई निरन्तर रुपमा आयोजना गर्न जोड दिएको छ । समय समयमा विभिन्न शैक्षिक संस्थाका नाम जोडिएर खेलकुदका विभिन्न प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । र, बिजेता शैक्षिक संस्थाहरु नै शैक्षिक खेल क्षेत्रका साथै शिक्षामा अब्बल देखिएका छन् । यस्तै, शैक्षिक क्षेत्रबाट पनि खेलकुदस्तर विकासका निम्ती पाइला चाल्दै आएका शिक्षण संस्थाहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । जस्तैः लिटिल एन्जल्स, जेम्स, चेल्सी, बृहस्पती, एनसिसिएस, रिलायन्स, द टाइम्स, गोल्डेन गेट, रेडन, हिमालयन ह्वाइट हाउस, ट्रिनिटी, किष्ट, भिएस निकेतन, नेपाल मेघा, नोबल कलेज, साउथ वेस्ट्रन, मोर्गान, हेराल्ड, जया मल्टिपल, अक्सब्रिज, एस इन्स्टिच्यूट, प्राइम, जेभियर, ब्रिजवाटर, सिसिआरसी, नासालगायतका कलेजहरुले स्तरीय शिक्षाका साथै प्रत्यक्ष खेलकुद विकासमा सदैब अब्बल भूमिका निभाएका छन् । विद्यालयस्तरीय विभिन्न विधाका प्रतियोगिताहरुको आयोजना जसका उदाहरण हुन् । केही कलेजहरुले विद्यार्थीको खेलकुद प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था पनि गर्ने गरेका छन् । साथै, सहभागिताको अवसर पनि प्रशस्तै उपलब्ध गराएको छ । विद्यार्थी सक्षम खेलाडीको रुपमा अगाडी बढ्न परिवार सँगसँगै शिक्षण संस्थाको पनि उल्लेखनीय भूमिका रहन्छ ।
एसईई पछिको शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिनु स्वयं विद्यार्थी भविष्यको राम्रो खेलाडी बन्नु पनि हो । विद्यार्थी जीवनमै खेलकुदमा भिजेका खेलाडीले भविष्यमा खेलकुदलाई पेशाको रुपमा अपनाई नाम, दाम, इज्जत कमाएको उदाहरण पनि सर्वविदित्तै छ । खेलकुदले विद्यार्थीलाई स्वस्थ रहन सघाउ पुर्याउनुको साथै कुलतमा फस्नबाट बचाउछ, जुन स्वयंको लागि मात्रै नभई परिवार, समाज, देश र अन्तर्राष्ट्रियस्तरमै सकारात्मक पक्ष हो । हुनत अरु देशको तुलनामा नेपालमा खेलकुदमा लागेर केहि हुँदैन भन्ने युवाहरु प्रशस्तै छन् । तर, यो भनाईलाई युवा क्रिकेटर सन्दिप लामिछाने, गौरिका सिंह लगायतले पछारिदिएका छन् । उनीहरु सानैदेखि खेल क्षेत्रमा लागेर आफ्नो, परिवार, समाज, खेलकुद क्षेत्र र देशकै नाम उच्च राख्न सफल भएका छन् । यस्ता उदाहरण फेरि पनि अन्य युवाले नल्याउलान भन्न सकिदैन ।