काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ । ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
टी-२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे । जोस ब्राउनले टी-२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी-२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन् ।
"एनपीएल खेल्न आउने कुरामा धेरै उत्साहित छु । नेपाली समर्थकलाई छिट्टै भेट्ने छु," ब्राउनले भने । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए ।
सुदूरपश्चिम रोयल्सको टोली :
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन ।
मुख्य प्रशिक्षक : जगत टमटा