काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले ओमनलाई पराजित गरेको छ । नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हाे ।
जितसँगै सुपर सिक्सको शीर्ष स्थानमा उक्लिएको नेपालले ८ अंक जोडेको छ । ओमान ६ अंक सहित दोस्रो स्थानमा तल झरेको छ । अब नेपालले आफ्नो अन्तिम खेलमा समाओलाई पराजित गरेमा च्याम्पियन बन्ने छ ।
नेपाल र घरेलु टिम ओमान दुवै विश्व कपमा प्रवेश गरेका छन् । बुधबार ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जितको लागि दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो ।
ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन, ओपनर तथा कप्तान जतिन्दर सिंह १४ रन, आर्यन बिष्ट ११ रन र सुफयान ९ रन बनाएर आउट भएका थिए । साकिल अहमद ८ रन र साह फैसल ३ रनमा अविजित रहेका थिए ।
नेपालका लागि गुलशनकुमार झाले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए । सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट लिएका थिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।

त्यसअघि, घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रन बनाएका थिए ।
अर्का ओपनर आसिफ शेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रन थपे । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
यस्तै, गुल्शन झाले ९ बलमा २ छक्कासहित १८ रन जोडे भने मोहम्मद आदील आलमे १५ बलमा ३ चौका प्रहार गर्दै १६ रन बनाएका थिए । नेपालका अन्य ब्याटरले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।
ओमानका लागि नदिम खानले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । सुफयान मेहमोद र जितेनकुमार रामदानीले समान २/२ विकेट लिएका थिए ।