एजेन्सी, २५ जेठ – विश्वकप २०१८को अभ्यास स्वरुप भएको खेलमा इंग्ल्याण्डले कोस्टारिकालार्इ २–०ले पराजित गरेको छ। उक्त खेलमा इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले गोलकिपर जोर्डन पिकफोर्डको स्थानमा ज्याक बट्ल्याण्ड, डिफेण्डर गेरी काहिलको स्थानमा ह्यारी म्यागुएर, लगायतका नियमित भन्दा फरक–फरक खेलाडी मैदानमा उतारेका थिए।
उक्त खेलमा सबै खेलाडीहरुले प्रशंसनीय खेल प्रस्तुत गरेपछि विश्वकपको पहिलो खेलमा कस–कसलार्इ मैदानमा उतार्ने भन्ने विषयमा साउथगेट दुविधामा फसेका छन्। साउथगेटले छान्न समस्या भइरहेका खेलाडीहरु निम्न रहेका छन्।
१. गोलकिपर– जोर्डन पिकफोर्ड र ज्याक बट्ल्याण्ड
राम्रो लयमा नभएका कारण विश्वकप २०१४ का इंग्ल्याण्डका प्रथम रोजाइका गोलकिपर जोइ हार्ट घरैमा थन्किए पछि विश्वकप २०१८ का लागि इंग्ल्याण्डका लागि नियमित गोलकिपरका लागि जोर्डन पिकफोर्ड र ज्याक बट्ल्याण्डबीच लडाइँ शुरु भएको छ।
इंग्ल्याण्डका भूतपूर्व गोलकिपर पिटर सिल्टोनले ज्याक बट्ल्याण्डसँग नेतृत्व गर्ने क्षमता छ, खेल प्रदर्शनी अाकर्षक छ। तर, त्यो सबै कुरा पिकफोर्डसँग बढी भएकाले पिकफोर्डलार्इ नै शुरुवाती ११ मा राख्नु पर्ने बताएका छन्। सामाजिक सञ्जालमा यी २ बीच भएको भोटिङमा सर्वसाधारणले पिकफोर्डका पक्षमा ७८ प्रतिशत तथा बट्ल्याण्डका पक्षमा २२ प्रतिशत भोट गरेका छन्।
२. डिफेण्डर – एस्ली योङ र ड्यानी रोज्
गत सिजन देखि चोटिल रहेका ड्यानी रोजले विश्वकपलार्इ मध्यनजर गर्दै अाफूलार्इ तयार गरेका छन्। बिहीबार राति कोस्टारिका विरुद्धको खेलमा अाफू पूर्ण रुपमा टिमको जिम्वेवारी बहन गर्न तयार रहेको प्रदर्शनीका माध्यमबाट प्रमाणित गरेका छन्। बिहीबार रातिको खेलमा रोजले सबै भन्दा बढी ड्रिबलिङ गरेका थिए।
त्यस्तै, साइडबाट क्रस गर्ने र लामो दुरीबाट घातक प्रहार गर्नमा माहिर एस्ली योङले केही दिन अगाडी नाइजेरियाविरुद्ध भएको खेलमा अदभुत प्रदर्शन गरेका थिए। सामाजिक सञ्जालमा भएको भोटिङमा रोजले ६४ प्रतिशत भोट प्राप्त गरेका छन्। त्यस्तै, योङले ३६ प्रतिशत भोट प्राप्त गरेका छन्।
३. डिफेण्डर – अलेक्जेण्डर अार्नोल्ड र केइरन ट्रिपियर
क्रसिङ तथा सशक्त फ्रिकिकमा माहिर यी दुबै खेलाडी प्रतिभाले भरिपूर्ण रहेका छन्। गएका दुबै मैत्रिपूर्ण खेलमा प्रशंसनीय खेल प्रदर्शन गरेका यी दूइबीच सामाजिक सञ्जालमा भएको भोटिङमा ट्रिपियर ५७ तथा अार्नोल्डले ४३ प्रतिशत भोट प्राप्त गरेका छन्।
४. डिफेण्डर – ह्यारी म्यागुएर र गेरी काहिल
नाइजेरियाविरुद्ध सशक्त हेडर मार्फत गोल गरेका काहिल पोजिसन प्ले तथा रक्षापंतीको नेतृत्वका हिसाबले अनुभवी तथा योग्य देखिन्छन्। तर, अर्का तर्फ गत सिजन लेस्टर सिटीबाट अाकर्षक खेल पस्केका ह्यारी म्यागुएर पनि केही कम देखिँदैनन्।
कोस्टारिका विरुद्धको खेलमा खम्बा समान खडा भएका म्यागुएर बुलेट हेडरबाट गोल हान्ने काहिलमध्ये को टिममा पर्नेहो त्यो ट्युनिसियाविरुद्धको खेलमा थाहा हुनेछ। यी २ बीच सामजिक सञ्जालमा भएको भोटिङमा काहिलले ५५ प्रतिशत तथा म्यागुएरले ४५ प्रतिशत भोट प्राप्त गरेका छन्।
५. मिडफिल्डर – एरिक डायर र जोर्डन हेन्डरशन
एकैशैलीमा खेल्ने यी २ खेलाडीबीच को उत्कृष्ट छुट्याउन त्यति सरल हुनेछैन। तर, हेन्डरशनको लिभरपुलमा हुँदाको प्रदर्शन र डायरको टोटनह्यामसँगको खेल हेर्दा डिफेन्सिभका साथै अाक्रामक खेलका दृश्टिकोणले डायललार्इ अगाडी राख्न सकिन्छ।
तर, इंग्ल्याण्डसँग अहिले प्रशस्त अाक्रामक विकल्प र टाइट डिफेन्स भएकाले मिडफिल्डमा बल होल्ड गर्ने खेलाडीका रुपमा हेन्डरशनले माैका पाउन सक्नेछन्। यी दुइबीचको सामाजिक सञ्जाल भोटिङमा हेन्डरशनका पक्षमा ५६ प्रतिशत र डायरका पक्षमा ४४ प्रतिशत भोट अाएको छ।
६. फरवार्ड – जिस्से लिङगार्ड र मार्कोस् र्यासफोर्ड
यदि बिहीबार रातिको खेल मार्कोस र्यासफोर्डका लागि प्रशिक्षकलार्इ अाकर्षित गर्ने माैका थियो भने र्यासफोर्डले उक्त माैकाको सदुपयोग गर्दे प्रशिक्षकको ध्यान अाफुतिर केन्द्रित मात्र नगरि कब्जा जमाएका छन्।
अविश्वसनीय गोलका साथमा अविस्मरणीय गोल गरेका र्यासफोर्डको कोस्टारिकाविरुद्धको खेलहेर्दा उनको स्थान कसैले लिन नसक्ने जस्तो देखिएको थियो। अर्को तर्फ हेर्ने हो भने, अर्का उत्तिकै क्षमतावान् खेलाडी रहेका छन् जिस्से लिङगार्ड।
नाइजेरियाविरुद्धको खेलमा डेले अलीसँग मिलेर नाइजेरियाको डिफेन्सलार्इ पूरै समय व्यस्त राखेका लिङगार्डले प्रशिक्षकबाट यस अघिनै मेहनत तथा क्षमताका बारेमा प्रशंसा पाइसकेका छन्। र्यासफोर्डको स्थानमा लिङगार्डलार्इ राख्ने हो भने इंग्ल्याण्डले मिडिफिल्डबाट पनि सशक्त अाक्रामक फुटबल खेल्न सक्छ।
यी २ खेलाडीबीच भएको सामाजिक सञ्जाल भोटिङमा र्यासफोर्डले ७५ प्रतिशत तथा लिङगार्डले २५ प्रतिशत भोट प्राप्त गरेका छन्।