काठमाडौं, साउन ९ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदकमा चीनले पहिलो स्वर्ण जितेको छ । चीनकी सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् ।
कोरोना भाइसका कारण बनाइएको नयाँ नियमका कारण उनलाई मेडल किस्तीमा राखिएर दिइएको थियो भने उनले मेडल समारोहमा मास्क लगाएरै आफ्नो देशको राष्ट्रिय गान गाएकी थिइन् ।
ओलम्पिकको पहिलो दिन आज अहिलेसम्म २० देशले पदक जितेका छन् । जसमा चीनसहित ६ देशले स्वर्ण पदक हात पारेका छन् । चीन दुई स्वर्ण जित्दा आयोजक जापान, इक्वेइडर, इरान, दक्षिण कोरिया र कोसोभोले १–१ स्वर्ण हात पारेका छन् ।
दक्षिण एसियाको भारतले पहिलो पहिलो दिन पदक जितेको छ । भारतले रजत पदक जितेको हो । भारतकी मीराबाई चानूले भारोत्तोनलको महिला ४९ केजीमा रजत पदक जितेकी हुन् । उनी ओलम्पिक भारोत्तोलनमा भारतका लागि रजत जित्ने पहिलो खेलाडी बनिन् । यो इभेन्ट्मा चीनकी होऊ जहुईले स्वर्ण र र इन्डोनेशियाकी विन्डी असाहले कास्य पदक जिते ।
पहिलो दिन नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भइन् । महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो ।
जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन् । यसअघि आजै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरिन् । उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन् ।
अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला एक सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्ने छन् ।
एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्ने छ । उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन् । यस्तै, गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ ।
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ ।