काठमाडौं, साउन ९ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत आज भएको खेलमा ६१६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १ सय दशमलव सात अङ्क जोडिन् ।
परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् ।
उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिएकी छन् । परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो भइन् ।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला सय मिटर फ्रि स्टाइल, शाहले पुरुष सय मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
कोभिडका कारण टोकियो ओलम्पिक एक वर्ष ढिलो भएको हो । युनाइटेड बाई इमोसन भन्ने मूल नारा रहेको यसपटकको ओलम्पिकमा कोभिडका कारण समर्थकको उपस्थिति थिएन । कोभिडका बेलापनि विश्वभर खेलाडीको तयारी गरेको भिडियो देखाएर उद्घाटन सुरु भएको थियो । उद्घाटनको सुरुवातमा जापानी बक्सर एरिसा सुबाटाले ट्रेडमिलमा दौडिएको देखाइएको थियो । उनको वरिपरि नर्सहरुलाई पनि राखिएको थियो । यसको अर्थ कोभिडका बेला विरामीलाई कसरी उपचार गरियो भन्ने संकेत देखाइएको थियो ।
योही टानेडाले डिजाइन गरेको ओलम्पिकको उद्घाटन समारोहमा शुई र जापानको माउन्ट फुजीलाई प्रतिनिधित्व गरेर बनाइएको थियो । उद्घाटन समारोहमा आयोजक, प्रायोजक, विशिष्ट ब्यक्तित्व र पत्रकारलाई प्रवेश गराइएको थियो । विश्वमा कोभिडले पारेको असरबाट बाहिर निस्कनका लागि सबै एकजुट हुनुपर्छ भन्ने उद्घाटनको थिम रहेको थियो ।
रंगशाला भित्र भब्य उद्घाटन भइरहँदा बाहिर भने ओलम्पिक हुनुहुँदैन भनेर टोकीयोका जनताले नारावाजी लगाएका थिए । उद्घाटन समारोहमा ओलम्पिक सुरु भएको देश ग्रिसको टिमबाट मार्च पास भएको थियो । त्यसपछि ओलम्पिकको झण्डामुनी खेल्ने रेफ्युजी टिमले प्रवेश गरेका थिए । सबै देशले आफ्नो परम्परा झल्किने ड्रेस लगाएका थिए । मार्च पासको अन्तिममा अर्को संस्करणको आयोेजक देश फ्रान्सले प्रवेश गरेको थियो । उद्घाटन समारोहमा अमेरीकी पहिलो लेडी जील बाइडेनको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा कोरोनाको संभावित संक्रमणलाई कम गर्नका लागि निकै कममात्र विशिष्ट ब्यक्तिलाई निम्तो दिइएको थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए । जसमा खेलाडीका रुपमा गौरीका र एलेक्सले मात्र भाग लिएका थिए । बाँकी सबै पदाधिकारी रहेका थिए । मार्च पासमा नेपालबाट आठ जनाको सहभागिता रहेको थियो ।