एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगमा आज (बुधबार) राति टोटेनहम र अजाक्स भिड्दैछन् । पहिलो लेगमा अग्रता बनाएको डच क्लब अजाक्सले घरेलु मैदानमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ ।
पहिलो लेगको खेल अजाक्सले १–० ले जितेको थियो । डोनी भान डि विकले पहिलो हाफमा गोल गर्दै पहिलो लेगमा १–० को अग्रता दिलाएका थिए ।
चोट मुक्त हुँदै मुख्य खेलाडी मैदान फर्कने भएपछि टोटेनहम आत्मविश्वासी देखिएको छ । डिफेन्डर जान भेर्टोनघनले दोस्रो लेग खेल्न सक्नेछन् । घरेलु मैदानमा अजाक्सविरुद्वको पहिलो लेगमा उनले टाउकोमा चोट बोकेका थिए । उनको मेडिकल उपचार पछाडी सुरक्षात्मक मास्क लगाएर खेल्न सक्ने बताईएको छ ।
निलम्बनबाट फर्किएका सन ह्युङ मिन मैदानमा देखिनेछन् । उनले इङ्लिस फरवार्ड ह्यारी केनको स्थान लिने अपेक्षा गरिएको छ ।
प्रिमियर लिगमा वर्नेमाउथविरुद्वको खेलमा चोट बोकेका भेर्टोनघनको स्थान डेभिन्सन साञ्चेजले लिन सक्नेछन् । एरिक लामेला र डिफेन्डर सर्जी एरियर चोट मुक्त हुदै मैदान फर्कनेछन् ।
टोटनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले आफ्नो क्लब पहिलो पटक च्याम्पियन्स लिगको फाईनल पुग्नेमा विश्वस्त रहेको बताए ।
उनले भने, ‘पहिलो लेगको नकारात्मक नतिजाले केही असर गरेको छ । तर अझै सम्भावना खुल्ला छ । हामीलाई थाहा छ, जित आवश्यक छ । र हामीले राम्रो प्रर्दशन गर्न आवश्यक छ । यो निकै उत्साहपुर्ण क्षण हो ।’
‘कसैले पनि हामी सिजनको अन्तिम हप्ता च्याम्पियन्स लिगको फाईनलमा पुग्न पाउछौ भनेर सोचेका थिएनन् । अब हामी यो क्षणको आनन्द उठाउन चाहन्छौ ।’ आत्मविश्वासी प्रशिक्षकले थपे ।
अजाक्सले समुह चरणमा बार्यन म्युनिखसंग दुवै लेग बराबरी खेलेको थियो । तर सन् २०१८ को युरोपियन च्याम्पियन रियल मड्रिलाई अन्तिम १६ को खेलमा हराएको थियो ।
त्यस्तै युभेन्ट्सलाई क्वार्टरफाईनल हराउँदै सेमिफाइनल पुगेको अजाक्सले पहिलो लेगमा समेत टोटेनहमलाई पराजित गरेको थियो ।
डच लिग लिडरलाई फाइनल पुग्न टोटेनहमविरुद्व बराबरीनै पर्र्याप्त छ । र प्रशिक्षक टेन हग भने घरेलु मैदानको दोस्रो लेगको खेल रक्षात्मक नखेल्ने बताउँछन् ।
‘हामीलाई जित्न आवश्यक छ । त्यो हाम्रो मानसिकतामा छ ।’ उनले भने, ‘हामी आफ्नै तालिकामा रहनुपर्छ ।’
विजेता टिमले जुन १ मा मड्रिडमा लिभरपुलसंग प्रतिस्पर्धा गर्नेछ ।