एजेन्सी । बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीले पाँच पटक प्रतिष्ठित अवार्ड बालोन डी’ओर जितिसकेका छन् ।
मेस्सी यस सिजनको बालोन डी’ओर अवार्डका पनि मुख्य दाबेदार खेलाडी हुन् । यस पटकको बालोन डी’ओर जितेमा मेस्सीले छैटौं पटक अवार्ड उचाल्दै कीर्तिमान बनाउने छन् ।फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले पनि यस वर्षको बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने बताएका छन् । उनले यस सिजन ब्यालोन डी’ओर को दावेदार कसले जित्छ भन्ने प्रश्नमा एमबाप्पेले एकै शब्दमा मेसीको नाम लिएका हुन् युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपनि मेसीले बार्सिलोनालाई लगातार स्पेनिस ला लिगा उपाधि दिलाउने क्रममा ३६ गोल लिगको सर्वाधिक गोलकर्ता पनि बनी आफ्नो उत्कृष्टता सिद्ध पारे।
बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन उत्कृष्ट खेल प्रर्दशन गरेका मेस्सीले यस पटकको अवार्ड जित्ने सम्भावना प्रबल छ ।
मेस्सीले यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राउन भने सकेन । जसको कारण मेस्सीले बालोन डी’ओर जित्ने आशंका गर्न थालिएको छ । तर, मेस्सीले बालोन डी’ओर जित्ने केहि आधारहरु छन् ।मेसीले यस वर्ष अर्जेन्टिनाको कप्तानी गर्दै कोपा अमेरिकामा पनि सहभागिता जनाउँदै छन् । अर्जेन्टिना पछिल्लो दुवै फाइनलमा चिलीसँग पराजित भएको थियो ।
मेस्सीले यस पटक बालोन डी’ओर जित्ने मुख्य ३ कारणहरु यसप्रकार छन् ।
१. कमजोर प्रतिस्पर्धी
बालोन डी'ओर अवार्ड जित्ने मुख्य आधार भनेको च्याम्पियन्स लिग र लिग खेलको प्रदर्शन मुख्य मानिन्छ । दुवै लिगमा मेस्सीको व्यक्तिगत प्रदर्शन धेरै माथि रहेको छ ।
यस सिजनमा अविश्वसनीय प्रर्दशन गरेका मेस्सीले २२ पटक ‘म्यान अफ द म्याच’ अवार्ड जितेका छन् । जुन अन्य खेलाडीको तुलनामा धेरै अघि हो । उनको अविश्वसनीय प्रर्दशनले बार्सिलोनाले ला लिगाको उपाधि जित्यो । उनले क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गराए ।
मेस्सीलाई टक्कर इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भान डिज्क भिर्गील रहेका छन् । भिर्गील प्रिमियर लिगमा सिजनको उत्कृष्ट खेलाडी समेत बनेका छन् । भिर्गीलले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल यात्रा तय गराईसकेका छन् । तर, उनले क्लबलाई प्रिमियर लिग जिताउन भने सकेनन् ।
२. रोनाल्डोको सामान्य प्रदर्शन
प्रतिष्ठित अवार्ड बालोन डी’ओर अवार्ड अहिलेको पुस्ताका दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत खेलौनाको रुपमा रहेको छ ।
किनकि पछिल्लो १० वर्षमा यस अवार्ड दुवै खेलाडीले समान ५/५ पटक जितेका छन् । गत सिजन भने दुवै खेलाडीलाई पछि पार्दै लुका मोड्रिचले यस अवार्ड जिते ।
तर, यस सिजन युभेन्ट्सका रोनाल्डो बालोन डी’ओर भन्दा केहि बाहिर पुगेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब पुगेका रोनाल्डोले यस सिजन उच्च प्रदर्शन गर्न सकेनन् ।
रोनाल्डोले युभेन्ट्सलाई इटालियन सिरी 'ए' को उपाधि दिलाउन महत्वपूर्ण भूमिका भने खेलेका छन् । उनले यो सिजन २१ गोल मात्र गरे । यस्तै च्याम्पियन्स लिगमा ६ गोल मात्र गरे । रोनाल्डोको टिम युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
यस सिजन रोनाल्डोको प्रदर्शन उच्च नहुँदा मेस्सीलाई भने फाइदा पुगेको छ । तुलनात्मक रुपमा रोनाल्डोको खराब सिजन बन्दा मेस्सीले बालोन डी'ओर जित्ने सम्भावना रहेको छ ।
३. सर्वाधिक गोल
गोल मेसिन मानिने मेस्सीले यस सिजन आफ्नो अविश्वसनीय गोलको तथ्यांकलाई कायम राख्न सफल भए । मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० गोल गरे ।
ला लिगामा यस सिजन सर्वाधिक गोल गर्ने खेलाडी बन्दा मेस्सीले ३६ गोल गरे । जसको कारण मेस्सीले पिचीची अवार्ड समेत हात पारे ।
मेस्सीले यस सिजन च्याम्पियन्स लिगमा पनि १२ गोल गरेका छन् । जुन यस सिजनको सर्वाधिक गोल समेत हो ।
यस सिजन ला लिगामा ३६ गोल गरेका मेस्सी युरोपियन क्लब फुटबलको गोल्डेन बुट दाबेदार खेलाडी समेत हुन् । मेस्सीले गोल्डेनबुटका लागि पेरिस सेन्ट जर्मेनका केलियन एमबाप्पेलाई ४ गोलले पछि बनाएका छन् ।