काठमाडौं । आयोजक प्याब्सन काठमाडौंले यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा बुधबार विजयी सुरुआत गरेको छ । काठमाडौंले प्याब्सन गण्डकीलाई १० रनले पराजित गर्यो ।
तल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले १७ ओभरमा छोट्याइएको खेलमा पूरा ओभर खेल्दै ७ विकेट क्षतिमा १ सय ३९ रनको योगफल खडा गर्यो ।
काठमाडौंका सन्श्रेय श्रेष्ठले ३५ तथा कुशल बिसीले ३४ रन बनाए । ५ विकेट लिनुका साथै ६ रन बनाएका काठमाडौंका तपेन्द्र विष्ट ‘म्यान अफ द म्याच’ चुनिए ।
जवाफमा गण्डकी १७ ओभरमा ७ विकेट गुमाउदै १ सय २९ रनमा समेटियो । अनिश भट्टराईले नटआउट ३४ तथा तुसार शर्माले २१ रन जोडे ।
अर्को खेलमा प्याब्सन बागमतीले प्याब्सन सुदूरपश्चिमलाई ३ विकेटले हरायो । निर्धारित २० ओभरमा सुदूरपश्चिमले सबै विकेट गुमाउदै १ सय १६ रन बनाएको थियो । बागमतीले १९.२ ओभरमा ७ विकेट क्षतिमा १ सय १८ रन जोड्यो ।
‘म्यान अफ द म्याच’ विशाल ऐरले अविजित ६० रन प्रहार गरे । ५५ बलको सामना गरेका विशालले ४ चौका र १ छक्का हाने । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । एन्जल्स स्पोर्ट्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ । फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक र सात प्याब्सन प्रदेश गरी ८ छात्र टिम सहभागी छन् ।
प्रतियोगिताअन्तर्गन बिहीबार प्याब्सन गण्डकी र प्याब्सन कोशी तथा प्याब्सन सुदूरपश्चिम र प्याब्सन मधेशबीच खेल हुनेछ ।