काठमाडौं । गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, इबीए जुनियर ब्वाइज र रिब्स सिनियर गर्ल्समा च्याम्पियन बने ।
गोल्डेनपिक र इबीए अपराजित रहँदै च्याम्पियन बने भने रिब्स समूह चरणमा १ खेलमा पराजित भएको थियो । गोल्डेनपिकले पहिलो संस्करणपछि पहिलोपटक सहभागिता जनाएको हो । इबीए पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भयो ।
बुद्धनगरस्थित आयोजक केएमसीमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ को झीनोअन्तरले पराजित गर्यो । गोल्डेनपिकका विजय तामाङले २१ अंक जोडे ।
जुनियर ब्वाइजको फाइनलमा इबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हरायो । इबीएका दिग्विजय पुरीले ११ स्कोर गरे । सिनियर गर्ल्सको उपाधि भिडन्तमा रिब्सले चेल्सी वल्र्ड स्कुललाई २५–२१ ले पाखा लगाउदै उपाधि रक्षा गर्यो । रिब्सकी सुप्रिया मल्लले ११ अंक जोडिन् । उपाधिसंगै रिब्सले चेल्सीसंग समूह चरणमा व्यहोरेका हारको बद्ला पनि लियो ।
.JPG)
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय विजय, दिग्विजय र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल, सिनियर गर्ल्समा मानाङ्क चिल्ड्रेन र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले ‘स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड’ हात पारे ।
विजेतालाई बागमती प्रदेशीकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २७ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर÷जुनियर ब्वाइजमा समान १२–१२ तथा गर्ल्समा ८ टिम सहभागी थिए ।