काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्स प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
योसँगै प्लेअफमा पुग्ने ४ टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाएका छन् । सुदूरपश्चिम बाहेक ३ टोली पहिलो पटक प्लेअफमा पुगेका हुन् ।
कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफ दौडबाट बाहिरिएका छन् । जनकपुरले जितको लागि दिएको १ सय ३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट ३० रन, जेजे स्मिथ २१ रन र निरोशन डिक्वेला १७ रनमा आउट भएका थिए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहेका थिए ।
बलिङमा जनकपुरका लागि संगीत कुरेले ४ ओभरमा २५ रन दिएर सर्वाधिक ३ विकेट लिए । मयान यादवले २ विकेट र सञ्जय कृष्णमूर्तिले १ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । जनकपुरका लागि संगीत कुरेले ३८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक अविजित ४५ रन बनाए ।
यसैगरी मायन यादवले अविजित २७ रन, असिफ शेखले २० रन, सञ्जय कृष्णमूर्तिले १४ रन र शुभ कंशाकारले ११ रन बनाउँदा जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिए । जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले समान १/१ विकेट लिएका थिए ।
भोलि पहिलो खेल सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने छन् ।