काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ । बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । यसअघि आजै काठमान्डु गोर्खाजले पनि प्लेअफमा स्थान बनाएको थियो । चौथो हार बेहोरेको चितवनको प्लेअफ यात्रा कठिन बनेको छ ।
सुदूरपश्चिमले जितका लागि दिएकाे १ सय ७० रनकाे लक्ष्य पछ्याएकाे चितवन १७ ओभर १ बलमा १ सय २० रनमा अलआउट भयाे । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए ।
देव खनालले २८ रन, अर्जुन साउदले १६ रन र कप्तान कुशल मल्लले १५ रन बनाउँदा चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा सुदूरपश्चिमका लागि पुनित मेहराले सर्वाधिक ३ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अभिनास बोहरा र इसान पाण्डेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले ५६ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाएर रिटाइर्ड हर्ट भएका थिए ।
ओपनर विनोद भण्डारी २१ रन र पुनिट मेहरा १३ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख २४/२४ रनमा अविजित रहेका थिए । बलिङमा चितवनका लागि सैफ जैइवले २ विकेट, रञ्जित कुमार र जर्ज स्क्रिम्शले समान १/१ विकेट लिएका थिए ।