काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्समाथि सहज जितसँगै पोखरा एभेन्जर्सले प्लेअफ संभावनालाई कायमै राखेको छ । मंगलबार सम्पन्न खेलमा पोखराले कर्णालीमाथि ३४ रनको सानदार जित निकालेको हो ।
पोखराले ५ खेलमा दोस्रो जित हात पार्दा ४ अंक सहित प्लेअफ संभावनालाई कायमै राखेको छ । ६ खेलबाट एक जित सहित २ अंक रहेको कर्णाली एक खेल अगाडि प्लेअफको दौडबाट बाहिरिएको छ ।
पोखराले जितका लागि दिएको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६७ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि मार्क वाटले ३४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५९ रनको अर्धशतीय योगदान दिए पनि जितका लागि पर्याप्त हुन सकेन ।
यस्तै नजिबुल्लाह जाद्रानले २४ रन, पवन सराफले १९ रन, प्रियांक पन्चालले १६ रन, कप्तान सोमपाल कामीले १३ रन र दीपेन्द्र रावतले १० रन बनाएका थिए ।
बलिङमा पोखराका लागि ऋषि धवन र धनञ्जय लक्षणले समान ३/३ विकेट लिए । यस्तै किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १ रनको विशाल योगफल खडा गरेको थियो । पोखराका लागि ओपनर एडम रोसिङटनले ५८ बलमा ११ चौका र ७ छक्कासहित अविजित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।
यस्तै जासन रोयले ३४ बलमा २ चौका र ३ छक्कासहित ४६ रन र कप्तान कुशल भुर्तेलले १७ बलमा ३ चौका र १ छक्कासहित १८ रनमा आउट भएका थिए । धनन्जय लक्षन ११ बलमा ३ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे ।
बलिङमा कर्णालीका लागि मार्क वाट र नन्दन यादवले समान १/१ विकेट लिएका थिए । भोलिको खेल दिउँसो ४ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ ।