काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार सम्पन्न खेलमा विराटनगरले कर्णालीलाई ३ विकेटले हराएको हो ।
कर्णालीले जितका लागि दिएको १ सय ६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै पुरा गर्यो । दुई बलमा चार रन आवश्यक परेको अवस्थामा बसिर अहमदले छक्का प्रहार गर्दै लक्ष्य पूरा गरेका हुन् ।
विराटनगरका लागि बसिरले ४३ बलमा ३ चौका र ३ छक्कासहित अविजित ६२ रनको योगदान दिए । यस्तै नारायण जोशीले २५ रन, शाहिल पटेलले १९ रन, साम हिजलेटले १६ रन जोडे ।
वलिङतर्फ कर्णालीका लागि गुलशन झा र कप्तान सोमपाल कामीले समान २/२ विकेट लिए । विलियम बोसिस्टो, पवन सर्राफ र नन्दन यादवले समान १/१ विकेट लिएका थिए ।
.jpg)
त्यसअघि, टीयु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । कर्णालीका लागि प्रीयाङ्क पान्चालले ४७ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाएका थिए ।
यस्तै, विलियम बोसीस्टोले ४८ रन, गुलशन झाले २० रन तथा नजिबुल्लाह जाद्रानले १२ रन जोडेका थिए । वलिङतर्फ विराटनगरका लागि मर्चेन्ट डी लाङ्ग र कप्तान सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।
जीतसँगै विराटनगरले ५ खेलबाट ८ अंक बनाएको छ । कर्णालीले ४ खेलबाट २ अंक बनाएको छ । भोलि पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ भने दोस्रो खेल सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।