काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजमाथि सानदार जित दर्ता गरेको छ । शुक्रबार सम्पन्न खेलमा काठमाण्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो ।
काठमाण्डुले जितका लागि दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१/२१ रन जोड्दा शोहिल तन्विरले १८ रन बनाए अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा काठमाण्डुका लागि रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले समान २/२ विकेट तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १ सय ४२ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि जोन सिम्पसोनले २९ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६० रन बनाएका थिए ।
मिलिन्द कुमारले ४३ बलमा ५ चौकासहित ३८ रन बनाए । चौथो विकेटका लागि जोन र मिलिन्दले ९८ रनको साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए । यस्तै, बेन चार्लस्वर्थले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ चितवनका लागि शोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रन्जित कुमार र कमल ऐरीले समान २/२ विकेट तथा रवि बोपाराले १ विकेट लिएका थिए ।
जारी प्रतियोगितामा ५ खेल खेलेको काठमाण्डुको यो तेस्रो जित हो । काठमाण्डुले ३ जित तथा २ हार ब्यहोरेको छ । चितवनले भने ४ खेलमा २ जित तथा २ हार ब्यहोरेको छ । आजको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबिच हुनेछ ।