काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले विराटनगर किंग्समाथि सानदार जित दर्ता गरेको छ । बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो ।
यो हारसँगै विराटनगरको अपराजित यात्रा टुगिंएको छ । चितवनले जितका लागि दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा अलआउट हुँदै १ सय २६ रनमा समेटियो ।
विराटनगरका लागि मार्चेन्ट डि लाङले २२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए । प्रतिश जिसीले ३० रन र साम हिजलेटले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा चितवनका लागि रञ्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । कमलसिंह ऐरीले २ विकेट, सोहिल तन्विर, सैफ जैव र कप्तान कुशल मल्लले समान १/१ विकेट लिए ।

त्यसअघि, टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले ३८ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए ।
त्यस्तै सैफ जैबले ३२ रन, देव खनालले २८ रन, कप्तान कुशल मल्लले अविजित २० रन र डेविड मलानले १७ रन बनाएका थिए । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लाङले समान २/२ विकेट लिए भने शुभम रन्जानेले १ विकेट लिएका थिए ।
जितसँगै चितवनको ३ खेलमा ४ अंक भएको छ । विराटनगरको ४ खेलमा ६ अंक रहेको छ । भोलि पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।