काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई हराएको छ । मंगलबार सम्पन्न खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो ।
काठमान्डुले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १ सय ३५ रन बनाउँदै अलआउट भयो । लुम्बिनीका लागि शेर मल्लले १८ बलमा ३ छक्कासहित सर्वाधिक २७ रन बनाए ।
दिलीप नाथले ३३ बलमा १ चौका र १ छक्कासहित २५ रन, ओपनर डार्सी सर्टले ११ बलमा ३ चौका र १ छक्कासहित २२ रन, गुल्बदिन नैबले ११ रन र कप्तान रोहित पौडेलले ११ रन बनाउँदा लुम्बिनीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ काठमान्डुका लागि मिलिन्द कुमार र जेहरार्ड इरास्मसले समान २/२ विकेट लिए । साहब आलम, कप्तान करण केसी, सन्तोष यादव र रासिद खानले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । काठमान्डुका लागि कप्तान करण केसीले ११ बलमा १ चौका र ४ छक्कासहित अविजित सर्वाधिक ३४ रन बनाए ।
ओपनर आकाश त्रिपाठीले ३६ बलमा ३ चौकासहित ३२ रन, सन्तोष यादवले २६ रन, मिलिन्द कुमारले १७ रन र जेहरार्ड इरास्मसले १७ रन बनाएका थिए । साहब आलम १ रनमा अविजित रहे ।
बलिङतर्फ लुम्बिनीका रुबिन ट्रम्पलमेन, शेर मल्ल, कप्तान रोहित पौडेल र गुल्बदिन नैबले समान २/२ विकेट लिएका थिए । दोस्रो जीतसँगै ४ खेलबाट ४ अंक जोडेको काठमान्डु तालिकाको तेस्रो स्थानमा छ ।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर सुखद सुरुवात गरेको काठमान्डुले त्यसपछिको २ खेलमा हार बेहोर्यो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको काठमान्डु तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो ।
पराजित लुम्बिनीको ३ खेलबाट २ अंक रहेको छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो । बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ।