काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत निकालेको छ । सोमबार सम्पन्न खेलमा विराटनगरले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि निकोल लोफ्टी इन्टोनले ३१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।
ओपनर लाहिरु मिलनथाले २२ बलमा २ चौका र १ छक्कासहित २३ रन, सन्जय कृष्णमुर्तिले २० रन र आसिफ शेखले १३ रन बनाउँदा जनकपुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ११ खर्चेर सर्वाधिक ४ विकेट लिए । सूर्य तामाङले २ विकेट, मार्चेन डि लिंगेले र शिभम रन्जनेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । विराटनगरका लागि शिवम रन्जानेले २९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।
बसिर अहमदले ३५ बलमा ३ छक्कासहित ३६ रन, ओपनर लोकेश बमले २६ बलमा २ चौका र १ छक्का सहित २८ रन, गप्टिल मार्टिनले १३ रन र जर्ज मुन्सेले १० रनको योगदान दिए । बलिङमा जनकपुरका लागि संगित कुरे र रुपेश सिंहले समान २/२ विकेट लिएका थिए । आदित्य मेहताले १ विकेट लिए ।
जीतसँगै विराटनगर ३ खेलमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ । एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्दैछन् ।