काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको शतकीय साझेदारीसँगै नयाँ कीर्तिमान बनाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले सानदार विजयी सुरुवात गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १ सय ६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रनको अर्धसतकीय पारी खेलेका थिए ।
एडम रोस्सिंटनले ३९ रन, ड्यान डाउवेर्थले २९ रन र अभिषेक तिवारीले ११ रन बनाउँदा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा विराटनगरका लागि प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले समान २/२ विकेट लिएका थिए । बसिर अहमद र सूर्य तामाङले समान १/१ विकेट लिए ।

त्यसअघि, टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै कीर्तिमानी २ सय २० रन बनाएको थियो । एनपिएलमा एकै इनिङ्समा बनेको यो नै सबैभन्दा धेरै रन हो ।
विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७२ रन बनाएका थिए । मार्टिन गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए । लोकेश र मार्टिनले दोस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए ।
शुभम रन्जनेले १६ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । यस्तै बसिर अहमद २३ रन र जर्ज मुन्सेले १० रनको योगदान दिए । नारायन जोशीले ३ बलमा अविजित ११ रन बनाएका थिए ।
बलिङमा पोखराका लागि म्याट टेलरले सर्वाधिक २ विकेट लिए । आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए । जितसँगै विराटनगरले पहिलो खेलमै २ अंक जोडेको छ । पोखराले भने हारबाट एनपिएल सिजन–२ को सुरुवात गरेको छ ।