काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ । सुपर सिक्सको तेस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हाे ।
जितसँगै नेपालले स्पष्ट ६ अंक बनाएको छ । सोमबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १ सय ४२ रनमा समेटियो ।
कतारलाई अन्तिम ओभरमा जितका निम्ति १० रनको आवश्यकता थियो । सन्दीप लामिछानेले पहिलो र दोस्रो बल लगातार डट फ्याके का थिए । तेस्रो बलमा कतारका अमिर फाकरुकले ‘स्टेप अप’ गर्दै ठूलो प्रहार गर्ने प्रयास गरे पनि बल भेट्टाउन सकेनन् । जसमा विकेटकिपर आसिफ सेखले सहजै ‘स्टम्प’ गर्दै फारुकलाई पभेलियनको दिशा देखाए ।
चौथो बलमा ओवाइस अहमेदले एक रन लिए । पाँचौँ बलमा मुजिब उर रहमानले दुई रन लिए । जसबाट अन्तिम बलमा कतारलाई जितका निम्ति सात र ‘टाई’ गर्न ६ रनको आवश्यकता थियो । तर, अन्तिम बल वाइड भए पनि आसिफले ‘स्टम्प’ गर्दै कतारका अन्तिम ब्याटर रहमानलाई आउट गरेसँगै नेपालले रोमाञ्चक जित निकालेको हो ।
कतारका दुई जना ब्याटरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर इमाल लियानागेले ३५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रन बनाएका थिए । यस्तै, जुबाएर अलीले ५५ बलमा २ चौका र १ छक्कासहित ५२ रन थपे । मुहम्मद असिमले पाँच बलमा १० रन जोडेका थिए ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिएका हुन् । नन्दन यादवले २ विकेट र दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २६ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ८ बलमा १६ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
त्यसैगरी कुशल भुर्तेलले ६ रन, आसिफ सेखले ११ रन, कुशल मल्लले ८ रन, मोहमद आदीलले २ रन, सन्दीप जोराले १ रन, सोमपाल कामीले १४ रन र नन्दन यादवले १ रन बनाएका थिए । कतारका लागि मिर्जा बैग र डेनियल अर्चरले समान ३/३ विकेट लिएका थिए । मुहम्मद अलि र ओवाइस अहमदले समान १/१ विकेट लिएका थिए ।