काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा रोमाञ्चक जित हासिल गरेको छ । नेपालका दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध १ रनकाे रोमाञ्चक जित दर्ता गरेको हाे ।
नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । यूएईका लागि अलिसान सराफुले ४० बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५८ रन बनाए । ध्रुव परसरले १८ बलमा १ चौका र ३ छक्कासहित ३२ रन र जोनाथन फिगेले २९ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडेका थिए ।
अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो । ओभरमा एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । पहिलो बलमा एक रन दिएका दिपेन्द्रले दोस्रो बल डट राखे । तेस्रो बलमा छक्का प्रहार गर्दै युएई जित नजिक देखियो ।
युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो । दीपेन्द्रले चौंथो बलमा क्याचआउट गराए भने पाचौं र छैटौं बलमा ब्याटरहरु रनआउट भए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
नेपालका ओपनर आसिफ शेखले ४ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भएका थिए ।
सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १/१ विकेट लिएका थिए ।
छनोटको समूह चरणबाट नै समान २/२ अंक लिएर सुपर सिक्समा आएको नेपाल र ओमानको समान ४/४ अंक भएको छ । युएई र कतारको समान २/२ अंक छ । अब नेपालले सोमबार कतारसँग खेल्नेछ ।