काठमाडौं । चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल बैकुण्ठ मानन्धर अन्तरविद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन् । प्लस टुको छात्रमा विश्वराम तथा छात्रामा अस्मिता पहिलो भएका हुन् ।
विश्वरामले निर्धारित दूरी १८ मिनेट ०४.५ सेकेन्डमा पूरा गरे । नव प्रभातका तयाहाङ राई दोश्रो तथा त्रिवेणी पब्लिकका अमृत विश्वकर्मा तेश्रो भए । अस्मिताले दूरी तय गर्न २१ मिनेट ३२.७ सेकेन्ड समय खर्चिन् । लालीगुराँसकै भगवती खड्का दोश्रो तथा एभरेष्टकी स्वस्तिका तिरुवा तेश्रो भए ।दक्षिण एसियाली खेलकुद (साग)का कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा स्थापना गरिएको बैकुण्ठ मानन्धर खेलकुद नेपालद्वारा आयोजित प्रतियोगिताको कक्षा ८ देखि १० सम्मको छात्रमा ब्राइट होराइजनका हस्त सुनार १८ मिनेट १७.२ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहे । सरस्वतीका नमराज बानियाँ दोश्रो तथा महेन्द्र ग्रामका सन्तोष कार्की तेश्रो भए ।
सो स्पर्धाको छात्रामा लालीगुराँसकी सर्मिला विकले स्वर्ण जितिन् । सर्मिलाले २३ मिनेट ०२.३ सेकेन्ड समय लगइन् । श्रीकृष्णकी प्रमिशा कार्की दोश्रो तथा श्रीकृष्णकै अस्मिता गोले तेश्रो स्थानमा रहे । भेट्रान पुरुष ६५ वर्षमाथि रामकृष्ण महर्जनले स्वर्ण, पुष्पलाल श्रेष्ठले रजत र कुमुदराज श्रेष्ठले कांस्य जिते । पुरुष ५६ देखि ६५ वर्षमा महर्जनत्रय देव, विक्रम र रामभक्त क्रमशः शीर्ष तीन स्थानमा रहे । ४५ देखि ५५ वर्षमा भीमबहादुर गुरुङ प्रथम, राजु भण्डारी द्वितीय र रामचन्द्र श्रेष्ठ तृतीय भए । भेट्रान महिलामा कृष्णेश्वरी सिन्तकला पहिलो, सर्मिला बस्नेत दोश्रो र कल्पना महर्जन तेश्रो बने ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्-सचिव टंकलाल घिसिङ, मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष ध्रुव आचार्य, आयोजक संस्थाका अध्यक्ष बैकुण्ठ मानन्धर, मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रीय सचिवालय सदस्य नन्दु काउछालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । विभिन्न १० स्पर्धा समावेश दौडमा करिब ६ सय ५० प्रतिस्पर्धी सहभागी थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ दशरथ रंगशालामै आएर टुंगिएको थियो । समापनका अवसरमा एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलाई खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएवापत सम्मान गरिएको थियो ।