काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप २०२४ मा हङकङले नेपाललाई जितको लागि १ सय १५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरत मैदान (मिनिस्ट्री टर्फ १)मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन बनायो ।
हङकङका लागि अंशुमन रथले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । जिशान अलीले १४ रन, निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाउनु बाहेक हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि अभिनाश बोहोराले ३ विकेट लिए । ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट लिए । आजको खेल जिते नेपाल समूह विजेता पनि बन्दै सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।
नेपालले मलेसियालाई पाँच विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाल र हङकङबीच ९ टी-२० आई खेल भएका छन् । दुवै टोली समान ४ खेलमा विजयी भएको छ भने एक खेल वर्षाले रद्द भएको थियो ।
उता, आइतबार साउदी अरेबियासँग ५५ रनको अप्रत्यासित हार व्यहोरेको हङकङलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।
नेपालको प्लेइङ-११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा
बेन्च : प्रतिश जिसी, अनिल शाह, विवेक यादव