काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल र हङकङ खेल्दै छन् । ओमानको अल अमेरत मैदान (मिनिस्ट्री टर्फ १)मा वर्षा भएपछि १८ ओभरको खेल १२:४५ बजे सुरु हुनेछ ।
नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।
आजको खेलमा नेपाल लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यो खेल जिते नेपालले समूह चरणको अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गर्नेछ ।
नेपालले मलेसियालाई पाँच विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाल र हङकङबीच ९ टी-२० आई खेल भएका छन् । दुवै टोली समान ४ खेलमा विजयी भएको छ भने एक खेल वर्षाले रद्द भएको थियो ।
उता, आइतबार साउदी अरेबियासँग ५५ रनको अप्रत्यासित हार व्यहोरेको हङकङलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।
नेपालको प्लेइङ-११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा
बेन्च: प्रतिश जिसी, अनिल शाह, विवेक यादव