काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली र वेस्टइन्डिजको ‘ए’ टोली बीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको खेल तालिकाअनुसार नेपाल र वेस्टइन्डिजको ‘ए’ टोली बीचको पहिको खेल टीयु क्रिकेट मैदानमा बैशाख १५ गते (अप्रिल २७)मा हुनेछ ।
दोस्रो खेल बैशाख १६ गते, तेस्रो खेल बैशाख १९ गते, चौथो खेल बैशाख २० गते र अन्तिम खेल बैशाख २२ गते हुनेछ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले घरेलु मैदानमा पहिलोपटक वेस्टइन्डिजको ‘ए’ टोलीसँग टी-२० सिरिज खेल्न लागेको हो ।
नेपालले विश्वकपमा लगाउने जर्सी सार्वजनिक, विश्वकपअघि नै प्रयोग गर्ने
नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न आईसीसी टी-२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले सोमबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङमार्फत नेपालको नयाँ जर्सी सार्वजनिक गरेको हो ।
केल्मीले निर्माण गरेको जर्सीमा रातो, निलो, हलुका सेतो र पहेँलो रङको रहेको छ । सार्वजनिक जर्सी जर्सीको सबैभन्दा माथि चन्द्र र सूर्य रहेको छ । सबैभन्दा तल एक सिङे गैँडा र सगरमाथा रहेको छ ।
जर्सीको बीचको भाग निलो रङको रहेको छ । सोही भागमा पहेँलो रङले नेपाल लेखिएको छ । बाहुलाको तल, गलाको माथि, सगरमाथा र गैँडाको रङ रातो रहेको छ ।
बायाँतर्फ छातीको भागमा क्यानको लोगो रहेको छ । पछाडिको अधिकांश भाग निलो र बाँकी रातो रङको रहेको छ । जर्सी नम्बर र खेलाडीको नाम पहेँलो रङले लेखिएको छ ।
क्यान सचिव पारस खड्काका अनुसार जर्सी विश्वकपअघि नेपालमा हुने शृंखलाअघि नै प्रयोगमा आउने छ । आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।