काठमाडौं । नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीका युवा अलराउन्डर खेलाडी गुलशन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । गुलशन झा सिनियर टोली र जुनियर दुवै टिमबाट एसिया कप खेल्ने पहिलो नेपाली खेलाडी हुने छन् ।
क्यानका सचिव पारस खड्काले सञ्चारमाध्यमलाई बताएअनुसार गुलशन झाको उमेरको कारण उनले यू–१९ एसिया कप खेल्न पाउने छन् । गुलशनले पाकिस्तान र श्रीलंकामा भएको एसिया कप २०२३ मा भारत र पाकिस्तानजस्ता शक्तिशाली टोली विरुद्ध खेलिसकेका छन् ।
गुलशन झाले हालसम्म २४ एकदिवसीय र १४ टि–२० आई खेल खेलिसकेका छन् । अलराउन्डर गुलशनले तल्लोक्रममा राम्रो ब्याटिङका साथै तिव्र गतिमा बलिङ गर्ने गर्दछन् । गुलशनको उपस्थितिले जुनियर टिमलाई झन् बलियो बनाउनेछ ।
यू–१९ एसिया कप प्रतियोगिता ८ डिसेम्बर देखी १८ डिसेम्बरसम्म युएईमा हुनेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् । नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ ।
नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । यू–१९ एसिया कप प्रतियोगिताको सेमिफाइनल खेल १५ डिसेम्बरमा हुनेछ । फाइनल खेल १७ डिसेम्बरमा हुनेछ ।
नेपाल यू–१९ प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो । नेपाली राष्ट्रिय यू–१९ टोलीले टियु मैदानमा एसिया कपको लागि प्रशिक्षण गरि राखेको छ । यू–१९ एसिया कप प्रतियोगिता श्रीलंकाबाट यूएई सरेको छ । यस्तै, यू–१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका हुनेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह ‘डी’ मा छन् ।