काठमाडौं । एसियन गेम्सको पुरुष टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ । सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालले सानदार ब्याटिङ प्रदर्शन गरे पनि भारतसँग २३ रनले पराजित भएको हो ।
भारतले जितको लागि दिएको २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनायो । भारतसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरीएको छ भने जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रन बनाउँदै आउट भएका थिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए ।
ओपनर कुशल भुर्तेलले २२ बलमा २ चौका र २ छक्कासहित २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख ६ बलमा १ चौका र १ छक्कासहित १० रनमा आउट भए । नेपाललाई ओपनर आसिफ र कुशलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।
कुशल मल्ल २२ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भएका थिए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई क्याच दिएका थिए । कप्तान रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भएका थिए । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे ।
भारतका लागि स्पिनर रवि विश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए । आवेश खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिएका थिए । साई किशोरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका लागि यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
भारतका कप्तान ऋतुराज गैकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भएका थिए । तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरेका थिए ।
जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा बोल्ड आउट भएका थिए । त्यस्तै रिंकु सिंह ३७ रनमा र शिभम दुवे २५ रनमा अविजित रहेका थिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिएका थिए । सोमपाल कामी र सन्दिप लामिछानेले समान १/१ विकेट लिएका थिए । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अभिनाश बोहराले ४ ओभरमा ५३ रन खर्चिएका थिए ।
योसँगै १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटबाट नेपालको पदक सम्भावना चुनौती सकिएको छ । जितसँगै भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।