काठमाडौं । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले आठौं पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा आज आइतबार भएको फाइनल खेलमा घरेलु टोली श्रीलंकाले जितको लागि दिएको ५१ रनको सामान्य विजयी लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको हो ।
यो २०२३ को उपाधि सँगै भारतले एसिया कप आठौं पटक जितेको छ । भारतले यसअघि सन् १९८४, १९८८, १९९० र १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा एसिया कप क्रिकेटको उपाधि जितेको थियो ।
भारतले ३७ बल फेस गर्दा जित पक्का गर्न सफल भयो । भारतका ओपनर शुभमन गिल १९ बलमा ६ चौकासहित सर्वाधिक २७ रनमा तथा ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहेका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंका १५.२ ओभरमा ५० रनमा अलआउट भएको थियो । श्रीलंकाको यो ओडिआई करियरमा दोस्रो कम योगफल थियो । यसअघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अलआउट भएको थियो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन तथा दुशान हेमान्था १५ बलमा १ चौकासहित १३ रनमा नटआउट रहेका थिए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुनिथ वेलालागे २१ बलमा ८ रन, धनन्जय डि सिल्भा ४ रन र ओपनर पाथुम निसंका २ रनमा आउट भएका थिए ।
श्रीलंकाका पाँच खेलाडीले खाता खोल्न सकेनन् । भारतका लागि तीव्र गतिका बलर मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । हार्दिक पान्ड्याले २.२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराहले ५ ओभरमा १ मेडनसहित १ विकेट लिएका थिए ।
भारतले समूह चरणमा नेपाललाई १० विकेटले हराएको थियो । पाकिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रनले र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । भारत बंगलादेशसँग ६ रनले हार्न पुगेको थियो ।
हरेक दुई वर्षमा आयोजना हुने एसिया कप क्रिकेट १९८४ देखि सुरु भएको प्रतियोगिता हो । भारतले सर्वाधिक ८ पटक एसिया कपको उपाधि जितेको छ । भारत ११ पटक फाइनल खेल्दा ३ पटकमात्रै उप विजेता भएको छ । यस्तै, श्रीलंकाले ६ पटक उपाधि जित्दा ७ पटक उप विजेता बनेको छ ।
यसैगरी पाकिस्तानले २ पटक उपाधि जित्दा ३ पटक उप विजेता भएको छ । बंगलादेश ३ पटक उप विजेता भएको छ भने अफगानिस्तान र यस पटक सहभागी भएको नेपालले समूह चरण पार गर्न सकेनन् ।