काठमाडौं । भारतले एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोर खेलमा पाकिस्तानमाथि सानदार जित निकालेको छ । श्रीलंकाको कोलोम्बोमा सोमाबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले हराएको हो ।
भारतले जितको लागि दिएको ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो । पाकिस्तानका लागि ओपनर फकर जमानले सर्वाधिक २७ रनको योगदान गरेका थिए ।
पाकिस्तानका सलमान अलि र यफ्तकर अहमेदले समान २३/२३ रन तथा कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । इमाम उल हक ९ रनमा र मोहम्मद रिजवान २ रनमा आउट भएका थिए ।
हार्दिक पान्ड्याले कप्तान बाबर आजमलाई ११ औं ओभरको चौथो बलमा बोल्ड आउट गरेपछि पाकिस्तान समस्यामा परेको थियो । मोहम्मद रिजवानलाई शार्दुल ठाकुरले आउट गरेपछि पाकिस्तानको जितको सम्भावना कठिन बनेको थियो ।
बलिङको क्रममा घाइते भएका नसिम शाह र हरिस रौफ भने ब्याटिङमै आएनन् । भारतका लागि स्पिनर कुलदीप यादवले ८ ओभरमा २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । त्यस्तै जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । भारतको सानदार जितमा विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
केएल राहुल १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहेका थिए । साढे दुई वर्षपछि एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटबाट शतक बनाएका राहुलले पाकिस्तानविरुद्ध पहिलो पटक शतक प्रहार गरेका हुन् । तेस्रो विकेटका लागि विराट र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको साझेदारी गरेका थिए ।
आईतबार निरन्तरको वर्षाका कारण स्थगित खेल सोमबार भएको थियो । भारतलाई पहिलो दिनमा नै पहिलो विकेटका लागि ओपनर कप्तान रोहित शर्मा र युवा ब्याटर शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट भएका थिए । शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा शाहिन शाह अफ्रिदीको बलमा अघा सलमानबाट क्याच आउट भएका थिए । त्यसपछि भने पाकिस्तानी बलरले विकेट लिन सकेनन् ।
पाकिस्तानका लागि शादब खानले १० ओभरमा १ मेडनसहित ७१ रन खर्चेर १ विकेट लिए । शाहिन शाह अफ्रिदीले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिएका थिए । विराट कोहली खेलको प्लेयर अफ द म्याच चुनिएका थिए ।
विराट कोहलीले आफ्नो एकदिवसीय करियरको १३ हजार रन पनि पूरा गरेका थिए । विराट भारतका लागि १३ हजार रन बनाउने दोस्रो भारतीय बनेका छन् । उनी भन्दा सचिन तेन्दुलकरले मात्र बढी रन बनाउन सकेका छन् । एकदिवसीय क्रिकेटमा सचिनको नाममा १८ हजार ४२६ रन छ ।
यस जितले भारतको फाइनल सम्भावना मजबुत बनेको छ । भारतले मंगलबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । पाकिस्तान फाइनलमा पुग्न बिहीबार श्रीलंकालाई हराउनु पर्ने हुन्छ ।