काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले जितका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो ।
कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपालले भारतलाई उक्त रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
तिब्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट हुन पुगे । त्यसपछि नेपालले राम्रो साझेदारी गर्न सकेन । त्यसअघि नेपाली ओपनरले तीन जीवनदान पाएका थिए । कुशल भुर्तेललाई दोस्रो ओभरमै श्रेयस ऐरले फस्ट स्लिपमा एक र ईशान किशनले ७ रनमा छाडेका थिए ।
त्यस्तै आसिफ शेखलाई एक रनमा विराट कोहलीले एक्स्ट्रा कभरमा क्याच छाड्दै जीवनदान दिएका थिए । तीन जीवनदान पछि नेपाली ओपनरले आक्रामक ब्याटिङ थालेका थिए । कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे । स्पिनर रविन्द्र जडेजाको बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट हुन पुगेका थिए ।
स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान रोहित पौडेल एज लागेर कप्तान रोहित शर्माबाट क्याच आउट हुन पुगे । जडेजाको बलमा कुशल मल्ल ठूलो सट खेल्ने धुनमा मिडअफमा २ रनमा क्याच आउट भएका थिए । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्थामा थियो ।
ओपनर आसिफ शेख ८८ बलमा अर्धशतक प्रहार गरेर तीव्र गतिका बलर मोहम्मद शिराजको बलमा ९७ बलमा ८ चौकासहित ५८ रनमा क्याच आउट भएका थिए । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरेका थिए ।
सातौं विकेटका लागि ३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रन पार गराएका थिए । दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भएका थिए । सोमपाल कामीले ५६ बल खेल्दै १ चौका र २ छक्कासहित ४८ रनको योगदान गरे । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहेका थिए ।
भारतका लागि रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिएका थिए । मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पान्ड्याले समान १/१ विकेट लिएका थिए ।
एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो । क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँग नेपालले एसिया कपको पहिलो भेटमा नै गरेको प्रदर्शनलाई धेरैले तारिफ गरेका छन् ।
आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको सुपर फोरमा स्थान बनाउने छ । नेपाललाई सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नैपर्ने दबाब छ । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।