काठमाडौं । नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
नेपालको यो ओडिआई इतिहासको सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । पाकिस्तानले जितको लागि दिएको ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए ।
नेपालका आरिफ शेखले ३८ बलमा ५ चौकासहित २६ रन बनाएका थिए । चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । त्यसबाहेक पाकिस्तानका बलर सामु नेपालका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका ओपनर कुशल भुर्तेल ९ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा कप्तान रोहितकुमार पौडेल गोल्डेन डक आउट भएका थिए । दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए । गुलशन झा १३ रनमा क्याच आउट भएका थिए ।
नेपालका दीपेन्द्रसिंह ऐरी ३ रनमा, कुशल मल्ल ६ रनमा, सन्दीप लामिछाने र ललित राजवंशी डक आउट भएका थिए । करण केसी ७ रनमा नट आउट रहेका थिए । पाकिस्तानका लागि शादब खानले ६.४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले २ विकेट, नसिम शाह र मोहम्मद नवाजले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनाएको थियो । यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआई इतिहासमा रनको हिसाबमा बनाएको उच्च योगफल हो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले १३१ बलमा १४ चौका र ४ छक्कासहित १५१ रनको शतकीय ईनिङ खेलेका थिए । बाबर अन्तिम ओभरमा सोमपाल कामीको चौथो बलमा वैकल्पिक फिल्डिर सन्दीप जोराबाट लङअफमा क्याच आउट भएका थिए ।
त्यस्तै इस्तफिकर अहमदले १०९ रनको आक्रामक शतकीय पारी खेले । उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरेका थिए । पाँचौं विकेटका लागि अहमद र बाबरले १३१ बलमा २१४ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए ।
मोहम्मद रिजवान ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भएका थिए । एक समय ६.१ ओभरमा २५-२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । ओपनर फखार जमानले १४ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिएका थिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिएका थिए ।
आब नेपालले अर्को खेल ओडिआई क्रिकेट वरीयतामा तेस्रो स्थानको महाशक्ति राष्ट्र भारतसँग भदौ १८ गते ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सुपर फोरमा स्थान बनाउन उक्त खेलमा जितसँगै अन्य टोलीको नतिजामा निर्भर हुनुपर्छ ।