काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एसिया कप क्रिकेट खेल्न आज पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी कतार एयरवेजमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान प्रस्थान हुन् ।
पछिल्लो एक वर्षदेखी १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेप्दै आएका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि आजमात्रै पाकिस्तान प्रस्थान गरेका हुन् । सन्दीपलाई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिसिङले एसिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर सन्दीपमाथि रहेको जनाए । उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको बताए । उनले सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गरेका थिए ।
‘नेपाली क्रिकेट टिमले पाकिस्तान, भारतसँग खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्वपूर्ण रुपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषय वस्तुहरुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन,’ घिसिङले भने, ‘आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको प्रस्थानसँगै टिमले पूर्णता पाएको छ ।’
पाकिस्तान प्रस्थानअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्पिनर सन्दीप लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको जनाएका थिए । उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए । सन्दीपले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको उल्लेख गरेका थिए ।
‘नेपाली क्रिकेट टिमले अहिले राम्रो पर्फर्मेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ, सन्दीपले भने, ‘यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब नेपाली क्रिकेट टिमले निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ, सन्दीपले भने ।’
नेपालले एसिया कप अन्तर्गत भदौ १३ गते, ३० अगस्टमा मुल्तानमा पाकिस्तानसँग र भदौ १८ गते ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग प्रतिष्पर्धा गर्दैछ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।