काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा आज सोमबार नेपालले भारतको ‘ए’ टोलीसँग खेल्दैछ । आर प्रेमदासा क्रिकेट मैदानमा समूह ‘बी’ का नेपाल र भारत ‘ए’ टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा पाकिस्तान ‘ए’ टोलीसँग ४ विकेटले पराजित भएको नेपाल आज सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ भने भारतको बलियो ‘ए’ टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
शुक्रबार भएको पहिलो खेलको ब्याटिङमा शीर्ष क्रमका ब्याटर ‘कोल्याप्स’ हुँदा नेपाललाई एक सय रन पुर्याउन पनि गाह्रो रहेको अवस्थानमा नेपालको पारी अलराउन्डर सोमपाल कामीले सम्हालेका थिए । नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अलआउट हुन पुगेको थियो ।
नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई सोमपालले करियरकै उत्कृष्ट ब्याटिङ गरेर पाकिस्तानलाई मध्यम लक्ष्य दिएको थियो ।
पाकिस्तानका दुई तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहनवाज दाहानीले नेपालको ब्याटिङ धरासयी बनाएका थिए । आज नेपाली ब्याटरले सर्टबलमा राम्रोसँग खेल्न सकेमात्रै जितको आधार तय गर्न सक्छन् ।
भारतको ‘ए’ टोलीमा युवा स्टारको बाहुल्यता रहेको छ । भारतीय टोलीमा यू-२३, यू-१९, रणजी र आइपिएलमा सानदार प्रदर्शन गरेका युवा स्टार खेलाडी छन् । टोलीमा भारतीय क्रिकेटको भविष्य मानिएका यश धुल, ध्रुव जुरेल, साइ सुदर्शन, रियान पराग, प्रभशिम्रन सिंह जस्ता युवा सुपरस्टार खेलाडी छन् ।
भारतको ‘ए’ टोलीले युएई ‘ए’ टोलीलाई ८ विकेटले पराजित गरेको थियो । भारतीय ‘ए’ टोलीको सहज जितमा कप्तान यश धुलले १ सय ८ रनको शानदार शतक प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको युएईको ‘ए’ टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
भारतको ‘ए’ टोलीले उक्त लक्ष्य २७ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । समूह ‘बी’ मा नेपाल तालिकाको तेस्रो स्थामा रहेको छ भने भारतको ‘ए’ टोली पहिलो स्थानमा र पाकिस्तानको ‘ए’ टोली दोस्रो स्थानमा छन् । यसैगरी युएईको ‘ए’ टोली चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमानको ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा नेपाल, पाकिस्तानको ‘ए’ टोली, भारतको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् ।
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल जुलाई १९ तारिखमा यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । दुबै समूह चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल जुलाई २१ तारिखमा र फाइनल खेल २३ तारिखमा हुनेछ ।
नेपाली टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम ढकाल (मौसम), प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ ।
भारतको ‘ए’ टोली :
यश धुल (कप्तान), अभिषेक शर्मा (उपकप्तान), साई सुदर्शन, निकिन जोन्स, प्रदोश रञ्जन पल, रियान पराग, निशान्त सिन्धु, प्रभशिम्रन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह दोदिया, हर्षित राना, आकाश सिंह, नितेश कुमार रेड्डी र राजवर्धन हांगगेकार ।