काठमाडौं । ब्याटिङमा शीर्ष क्रमका ब्याटर ‘कोल्याप्स’ हुँदा श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानको ‘ए’ टोलीसँग पराजित भएको छ । कोलोम्बो क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।
नेपालले जितको लागि दिएको १ सय ८० रनको विजयी लक्ष्य पाकिस्तान ‘ए’ टोलीले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ‘ए’ का लागि तैयव ताहिरले ६७ बलमा ६ चौकासहित ५१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । कमरान गुलामले २६ बलमा ३१ रन बनाएका थिए ।
त्यस्तै, ओमैर बिन युसुफ ३६ रनमा, सैम अयुब २४ रनमा, ओपनर हसिबउल्लाह खान १२ रनमा र कप्तान मोहम्मद हरिस ९ रनमा क्याच आउट भएका थिए । नेपालका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । पवन सर्राफले दुई विकेट र कुशल मल्लले एक विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अलआउट हुन पुगेको थियो । नेपालका लागि अलराउन्डर सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि.सी र सोमपाल कामीले नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । युवा बलर प्रतिशले २४ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडेका थिए ।
अलराउन्डर सोमपाल कामीले अन्तिम विकेटका लागि ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहेका थिए । सुरुआतदेखि नै धरासायी बनेको नेपाली इनिङ्समा कुनै पनि शीर्ष ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि अर्जुन साउद र कुशल मल्लले समान १७/१७ रन जोडेका थिए । त्यस्तै, गुल्सन झाले १३ रन र ओपनर आसिफ शेखले १२ रन बनाएका थिए । कप्तान रोहितकुमार पौडेल चार रनमा, ओपनर कुशल भुर्तेल र पवन सर्राफ समान १/१ रनमा आउट भएका थिए । भीम सार्की डकआउट भए ।
पाकिस्तान ‘ए’ टोलीका लागि शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले एक विकेट लिएका थिए ।
प्रतियोगितामा ८ टोली सहभागीता रहेको छ । समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् । समूह ‘बी’ मा नेपाल, पाकिस्तानको ‘ए’ टोली, भारतको ‘ए’ टोली र यूएई रहेका छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।
नेपालले दोस्रो खेलमा जुलाई १७ तारिखमा भारतको ‘ए’ टोली खेल्नेछ भने समूह चरणको तेस्रो तथा अन्तिम खेल जुलाई १९ तारिखमा यूएईसँग खेल्नेछ । समूह चरणको खेलपछि अंक तालिकाको पहिलो स्थान र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल जुलाई २३ तारिखमा हुनेछ ।