काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले आज शुक्रबार पाकिस्तानसँग खेल्दैछ । कोलोम्बो क्रिकेट मैदानमा समूह ‘बी’ का नेपाल र पाकिस्तान ‘ए’ टोलीबीचको खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजेदेखि सुरु हुनेछ ।
पाकिस्तानको ‘ए’ टोली रहेतापनि राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा केही चर्चित अनुहार समेत रहेका छन् । पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत ८ युवा स्टार खेलाडी टोलीमा रहेका छन् ।
पाकिस्तानको आक्रामक ब्याटर कप्तान हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ । पाकिस्तानको सिनियर टोलीका नियमित तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको बल खेल्न नेपाली ब्याटरलाई सहज हुनेछैन ।
नेपालका प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर करण केसी र अलराउन्डर आरिफ शेख टोलीमा छैनन् । नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिनसक्छ । भीम सार्की, रोहित पौडेल र कुशल मल्लले तेस्रो, चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन् ।
नेपालका तीव्र गतिका बलरमा सोमपाल कामी र किशोर महतो हुनेछन् । नेपालले तेस्रो तीव्र गतिका बलरमा गुलशन झालाई खेलाउने छ । गुलशन नेपालको फिनिसर ब्याटरको रुपमा खेल्नेछन् । स्पिन आक्रमण सन्दीप लामिछाने नहुँदा ललितनारायण राजवंशीले सम्हाल्ने छन् ।
नेपाल गत मेमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो भने टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो । जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा आज नेपाल र पाकिस्तान ‘ए’ टोली रहेका छन् ।
प्रतियोगितामा ८ टोली सहभागीता रहेको छ । समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् । समूह ‘बी’ मा नेपाल, पाकिस्तानको ‘ए’ टोली, भारतको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।
नेपालले दोस्रो खेलमा जुलाई १७ तारिखमा भारतको ‘ए’ टोली खेल्नेछ भने समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्नेछ । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो स्थान र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल जुलाई २३ तारिखमा हुनेछ ।
नेपाली टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम ढकाल (मौसम), प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ ।
पाकिस्तानको टोली :
मोहम्मद हरिस, ओमैर बिन युसुफ, अमद बट, अर्शद इकबाल, हसिबउल्लाह, कमरन घुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वासिम जुनियर, क्वास अक्रम, शहिबजादा फहरान, सैम अयुब, शाहनजाद दाहानी, सुफियान मकीम र तयाब ताहिर ।