काडमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । आगामी बिहीबार सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्नेछ ।
नेपाल प्रतियोगिताको समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यसैगरी समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा जुलाई १७ तारिखमा भारतको ‘ए’ टोली खेल्नेछ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्नेछ ।
समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो स्थान र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । प्रतियोगिताको दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल जुलाई २३ तारिखमा हुनेछ ।
नेपालका दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । विदेशी फ्रेन्चाइज लिग खेल्नुपर्ने भएकाले यी दुई खेलाडीले इमर्जिङ टिम्स एसिया कप नखेलेका हुन् ।
लामिछाने र ऐरी क्यानडामा आयोजना हुने फ्रेन्चाइज लिग ‘ग्लोबल टीट्वान्टी’ मा आबद्ध छन् । ग्लोबल टीट्वान्टी लिग जुलाई २० तारिख देखि अगस्त ६ तारिखसम्म आयोजना हुँदैछ । उक्त लिगमा सन्दीप सरे जग्वार्स क्लबमा आबद्ध छन् । दीपेन्द्रलाई भने मोन्ट्रियल टाइगर्सले अनुबन्धित गरेको छ ।
यसैगरी अलराउन्डर आरिफ शेख पनि टोलीमा छैनन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा आरिफलाई पनि समावेश गरिएको थियो । घरायसी समस्याका कारण प्रतियोगिता नखेल्ने निणर्य लिएका आरिफ शेखको स्थानमा क्यानले पवन सर्राफलाई टोलीमा बोलाएको छ ।
जिम्बाबेमा आयोजना भएको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएलगत्तै नेपाली टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गरेको हो । १० राष्ट्र सहभागी विश्वकप छनोट प्रतियोगितामा नेपाली टोली आठौं भएको थियो ।
नेपाली टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम ढकाल (मौसम), प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ ।