काठमाडौं । शर्षिक्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतक र कप्तान अभिषेक तिवारीको घातक बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियालाई फराकिलो अन्तरले पराजित गरेर उपाधी जितेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसियामाथि २ सय २१ रनको सानदार जित दर्ता गरेको हो । प्रतियोगितामा अपराजित नेपाल एसीसी इस्ट जोन कपको ह्याट्रिक च्याम्पियन बनेको छ ।
नेपालले जितको लागि दिएको २ सय ५३ रनको बिशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो । घरेलु टोली मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका कप्तान अभिषेक तिवारीले पाँच विकेट लिएका थिए ।
मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक नेपाली बलरसामू निरिह देखिएको मलेसियाका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपालको फराकिलो जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । नेपालका लागि शर्षिक्रमका ब्याटर नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित अविजित १ सय १२ रनको उत्कृष्ट शतकीय ईनिङ खेलेका थिए ।
नेपालका ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले पहिलो विकेटका लागि ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भएका थिए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट भएका थिए ।
सुर्यांशु कोईराला २३ बलमा २ चौकासहित १८ रनमा तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगेका थिए । नेपालको तेस्रो र चौथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन ।
सन्तोष यादव २९ बलमा २ चौकासहित २६ रनमा आउट भएका थिए । अशोक धामी ७ बलमा १ छक्कासहित ११ रनमा र दिपु कुमार ५ रनमा आउट भएका थिए । मलेसियाका लागि मुहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिएका थिए । हजिक हैकवाल, अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिएका थिए ।
नेपालले घरेलु टोली मलेसियालाई फराकिलो अन्तरले हराएर लगातार तेस्रो पटक उपाधि जितेको हो । यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू-१६ को उपाधि जितेको थियो । यसअघिको दुई संस्करण भने एसीसी यू-१६ रिजनको नामले थिए ।
सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले र मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।