काठमाडौं । शीर्षक्रमका ब्याटर नरेन भट्टको शतकमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियालाई उपाधी जित्न २ सय ५३ रनको बिशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।
नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित अविजित १ सय १२ रनको उत्कृष्ट शतकीय ईनिङ खेलेका थिए । नरेनले ८२ बलमा शतक पूरा गरेका थिए । नरेन जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
नेपालका ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले पहिलो विकेटका लागि ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भएका थिए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट भएका थिए ।
सुर्यांशु कोईराला २३ बलमा २ चौकासहित १८ रनमा तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगेका थिए । नेपालको तेस्रो र चौथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन ।
सन्तोष यादव २९ बलमा २ चौकासहित २६ रनमा आउट भएका थिए । अशोक धामी ७ बलमा १ छक्कासहित ११ रनमा र दिपु कुमार ५ रनमा आउट भएका थिए । मलेसियाका लागि मुहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिएका थिए । हजिक हैकवाल, अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिएका थिए ।
नेपाल घरेलु टोली मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले र मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।