काठमाडौं । नेपाल सिंगापुरलाई हराउदै मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले पराजित गरेको हो ।
नेपालले जितको लागि दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाएका थिए ।
कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाएका थिए । सिंगापुरका अन्य ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका तीव्र गतिका बलर अभिषेक तिवारीको पहिलो ओभरको अन्तिम बलमा सिंगापुरका प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा क्याच आउट भएका थिए ।
दोस्रो विकेटका लागि रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गरेका थिए । राहिल थकर ३१ बल खेल्दै ७ रनमा आउट भएका थिए । एसलान जाफ्री ३ रनमा अशोक धामीको बलमा बोल्ड आउट भए । रैनक नैक र हरिहरन समान ५/५ रनमा आउट भएका थिए ।
नेपालका लागि कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कार्तिक कामतनै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए ।
नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिएका थिए । अशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । कप्तान अभिषेक तिवारी र प्रतिक पोखरेलले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर सुर्यांशु कोईरालाले ४९ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाएका थिए ।
नेपालका लागि ओपनर सुर्यांशु कोइराला र निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए । निरज यादवले ४९ बलमा ३ चौकासहित ४२ रन बनाएका थिए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भएका थिए ।
मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ रनमा, प्रतिक भट्टराई र दीपु कुमार समान १२/१२ रनमा, विकेटकिपर आषिश लुहार ६ रनमा, कृतिक कामत ५ रनमा, प्रतिक पोखरेल ३ रनमा र अशोक धामी डक आउट भएका थिए ।
सिंगापुरका लागि हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिएका थिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका थिए ।
नेपालले मंगलबार फाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ । मलेसियाले सोमबार नै अर्को सेमिफाइनल खेलमा हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । समूह चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । मंगलबार नै सिंगापुरले तेस्रो स्थानका लागि हङकङसँग खेल्नेछ ।
नेपालको यू-१६ टोली :
अभिषेक तिवारी (कप्तान), आषिश लुइटेल (विकेटकिपर), दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, सुर्यांशु कोइराला, सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।