काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित निकालेको छ । जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लब हरारेमा आइतबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।
युएईले जितको लागि दिएको १ सय ८२ रनको मध्यम विजयी लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुरुआत र मध्यक्रममा धर्मराएको नेपालको जितमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नायक बनेका थिए ।
दीपेन्द्रसिंह ऐरीले सम्हालिएको प्रदर्शन गर्दै ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी खेलको ‘प्लेयर अफ द म्याच’ बनेका थिए ।
आठौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीले अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेसँग मिलेर १५ ओभरमा ७९ रनको अविजित विजयी साझेदारी गरेका थिए । सन्दीप लामिछानेले ३७ बलमा २ चौकाको सहयोगमा अविजित २३ रन बनाएका थिए ।
एक समय ६३ रनमा ६ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीले गुलशन झासँग मिलेर ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट हुन पुगेका थिए ।
नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदलाई दोस्रो ओभरको पहिलो बलमै युएईका तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले एक रनमा एलबीडब्लू आउट गरेका थिए । साता महिनापछि टोलीमा मौका पाएका अर्जुनले अवसरको सदुपयोग गर्न सकेनन् ।
लामो समयपछि टोलीमा खेल्ने मौका पाएका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल २२ बलमा २ चौकासहित १३ रनमा क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्र तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा टप एज लागेर बासिल हामिदबाट क्याच आउट भएका थिए ।
कप्तान रोहितकुमार पौडेल जवादुल्लाहको सर्ट बलमा एज लागेर विकेटकिपर अर्यांश शर्माबाट ४ रनमा समातिन पुगेका थिए । जवादुल्लाहको बलमा भीम सार्की एज लागेर शर्माबाट १ रनमा क्याच आउट भए । आरिफ शेखलाई एक रनमा सन्चित शर्माले एलबीडब्लू आउट गरेका थिए ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ४ चौकासहित ३५ रन बनाएका थिए । युएईका लागि मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । जुनैद सिद्दिक, अली नासिर, सन्चित शर्मा र रोहन मुस्तफाले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो । युएईका लागि कार्यवाहक कप्तान वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाएका थिए । वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए ।
ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै तीव्र गतिका बलर करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । आयरल्यान्डविरुद्धको खेलमा घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले मध्यक्रमका ब्याटर आसिफ खानलाई ओपनिङ पठाएको थियो ।
ओपनर आसिफ खानलाई इनिङको दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्य अरबिन्दले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । अर्यांश शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रनमा आउट भएका थिए ।
स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए । लामिछानेले नै मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै युएईलाई दबाब बढाएका थिए ।
युएईलाई रोहन मुस्तफा र बासिल हामिदले पाँचौं विकेटका लागि ७२ बलमा ५८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । रोहन मुस्तफा ५६ बलमा ३ चौकासहित ३५ रनमा आउट भएका थिए । करण केसीको बाउन्सर बलमा मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगेका थिए ।
बासिल हामिद दीपेन्द्रसिंह ऐरीको बलमा करण केसीबाट ३५ बलमा २ चौकासहित २९ रनमा समातिन पुगेका थिए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीको बलमा रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा रन आउट गरेपछि नेपाल खेलमा हाबी बनेको थियो ।
स्पिनर सन्दीप लामिछानेले सन्चित शर्मालाई १४ बलमा १२ रनमा क्याच आउट गराएका थिए । प्रतिश जि.सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरेका थिए ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिएका थिए । तीव्र गतिका बलर करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।
जितसँगै विश्वकप छनोटमा अब नेपालले अन्तिम खेलमा सातौं स्थानको लागि मंगलबार टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित युएईले भने बिहीबार नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।