काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा युएईले नेपाललाई १८२ रनको मध्यम विजयी लक्ष्य दिएको छ । जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन जोडेको हो ।
युएईका लागि आजको खेलमा कप्तानी गरिरहेका वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाएका थिए । गुलसन झाको बलमा कार्यवाहक कप्तान वृत्य अरबिन्द बोल्ड आउट भएका थिए ।
ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै तीव्र गतिका बलर करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । आयरल्यान्डविरुद्धको खेलमा घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले मध्यक्रमका ब्याटर आसिफ खानलाई ओपनिङ पठाएको थियो ।
ओपनर आसिफ खानलाई इनिङको दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्य अरबिन्दले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । अर्यांश शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रनमा आउट भएका थिए ।
स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए । लामिछानेले नै मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै युएईलाई दबाब बढाएका थिए ।
युएईलाई रोहन मुस्तफा र बासिल हामिदले पाँचौं विकेटका लागि ७२ बलमा ५८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । रोहन मुस्तफा ५६ बलमा ३ चौकासहित ३५ रनमा आउट भएका थिए । करण केसीको बाउन्सर बलमा मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगेका थिए ।
बासिल हामिद दीपेन्द्रसिंह ऐरीको बलमा करण केसीबाट ३५ बलमा २ चौकासहित २९ रनमा समातिन पुगेका थिए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीको बलमा रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा रन आउट गरेपछि नेपाल खेलमा हाबी बनेको थियो ।
स्पिनर सन्दीप लामिछानेले सन्चित शर्मालाई १४ बलमा १२ रनमा क्याच आउट गराएका थिए । प्रतिश जि.सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरेका थिए ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिएका थिए । तीव्र गतिका बलर करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।
यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि टेस्ट टोली आयरल्यान्डसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।