काठमाडौं । नेपालले आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज आइतबार युएईसँग खेल्दैछ । जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लब हरारेमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार मध्यान्ह १२:४५ बाट सुरु हुनेछ ।
दुई चर्चित एसोसिएट टोलीबीच आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ । सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो । नेपालको कप्तानी रोहितकुमार पौडेलले र युएईको मोहम्मद वासिमले गर्नेछन् ।
यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो । आज पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
नेपाल आज युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न चाहन्छ । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ ।
नेपाल ८ पटक विजयी हुँदा युएईले ६ पटक खेल आफ्नो पक्षमा पारेको छ । पछिल्लो समय युएई नेपालसँग लगातार पराजित हुँदै आएको छ । पछिल्ला पाँच खेलमा नेपाल ४ खेलमा विजयी भएको छ । त्यसैको कारण युएईले टोलीमा युवा खेलाडीलाई बढी महत्व दिँदै विश्वकप छनोट खेल्न पुगेको थियो ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले, वेस्टइन्डिजसँग १ सय १ रनले र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।
युएई समूह ‘बी’ मा चारै खेलमा हारका साथ पुछारमा रहेर बाहिरिएको थियो । युएई श्रीलंकासँग १ सय ७५ रनले, ओमानसँग ५ विकेटले, स्कटल्यान्डसँग १ सय ११ रनले र आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएको थियो । युवा खेलाडीको बाहुल्यता रहेको नेपाल र युएईबीचको आजको भिडन्त हेर्न लायक हुनेछ ।
नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
युएईको टोली :
मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।